३२ असार २०८१, सोमबार July 15, 2024

थारु समुदायको अट्वारी पर्व भदौ ३१ गते, कैलारी गाउँपालिकाद्वारा दुई दिन बिदा

२७ भाद्र २०८०, बुधबार
थारु समुदायको अट्वारी पर्व भदौ ३१ गते, कैलारी गाउँपालिकाद्वारा दुई दिन बिदा

धनगढी, २७ भदौ । पश्चिम नेपालका थारू समुदायको प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अँट्वारी पर्व यस वर्ष भदौ ३१ गते परेको छ ।
हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अँट्वारी पर्व मनाइन्छ ।
थारु नागरिक सामाज कैलाली संयोजक तथा थारु अगुवा दिलबहादुर चौधरीले अँट्वारी पर्व यहि भदौ ३१ गते परेको बताए । उनले कुशे औंसी पछिको पहिलो आइतबार र भाद्र शुक्ल पक्षको पहिलो आइतबार भदौ ३१ गते परेकोले उक्त दिन थारु समुदायको अँट्वारी पर्व परेको बताए ।
अँट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारु समुदायका महिला पनि अँट्वारी व्रत बस्ने गर्दछन् । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अँट्वारी पर्व मनाउने गरेका छन् । थारु समुदायको यो माघीपछिको अर्को प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो । अट्वारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातिमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार व्रत बस्ने गरिन्छ ।
साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अँट्वारी पूजा गर्ने गर्दछन् । अँट्वारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ ।
फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ। अँट्वारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अँट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको छ ।
यसैबीच, थारु बाहुल क्षेत्र रहेको कैलारी गाउँपालिकाले अँट्वारी पर्वमा दुई दिन स्थानीय विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले भदौ ३१ गते र असोज १ गते स्थानीय बिदा दिने निर्णय गरेको हो ।