राम दहित
हसुलिया, २६ भदौ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुर मुक्तकमैया बस्तीका आगलागी पीडितहरुलाई सुरक्षित आवास हस्तान्तरण गरिएको छ ।
सोमबार एक कार्यक्रमका बिच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरी र कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले संयुक्त रुपमा आवास हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आगलागीबाट पीडित भएका परिवारलाई ढिलो भएपनि सुरक्षित आवासको व्यवस्था भएको बताए । उनले भने, ‘२०५७ सालमा मुक्त घोषणा भएका कमैया पुनस्र्थापनाको काम अहिलेसम्म बाँकी रहेको छ । यो वर्ष बजेटमा पुनस्र्थापना हुन बञ्चित भएका मुक्तकमैयाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ तर कार्यविधि नबन्नाले समस्या आएको छ ।’
मन्त्री चौधरीले भने, ‘संघीय सरकारले पनि कार्यविधि बनाउँदै छ । त्यसमा संघीय सरकारले जग्गाको व्यवस्था गर्ने, प्रदेश सरकार आवास बनाउने र स्थानीय पालिका त्यसको व्यवस्थापन गर्ने भनेको छ ।’
गाउँपालिकाबाट निस्सा पाएका सुकुम्बासी, दलित परिवारलाई चाँडै लालपुर्जा दिन पनि उनले निर्देशन दिएका थिए ।
कृषि राज्यमन्त्री कैलाश चौधरी संविधानमा दिएको अधिकार अनुसार सबै नागरिकलाई गाँस बास र कपासको व्यवस्था गरेको बताए । विपतपुर मुक्तकमैया बस्ती २०७९ सालमा आगलागी भएर २७ घर पूर्ण रुपमा क्षति भएको घर अहिले चिटिक्क र बलियो बनेको बताए ।
उनले भने, ‘यो घर बनाउनका लागि प्रदेश सरकार, हयाविट्याट, आरडिएन र लाभग्राहीहरुले आफ्नै घर हो भनि धेरै बलियो बनाइएको छ । प्रदेश सरकारलाई यो वर्ष बजेट घटाएर दिएको छ । आउने वर्ष बजेट बढेर आयो भने बाँकी घरको लागि पनि प्रदेश सरकारले बजेट विनियोजना गर्नेछ ।’
कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले आगलागीले विपतपुरबासीलाई धेरै समस्या भएको बताए । उनले गाउँपालिकामा दमकलको व्यवस्था भएको भए बस्तीमा कम क्षति हुने बताएका थिए ।
उनले भने–‘दमकल नभएको कारणले बस्तीको २७ घर खरानी भएको थियो, अहिले गाउँपालिकाले छिमेकी पालिकासँगको सहकार्यमा दमकल ल्याउने तयारी गरेका छौँ ।’
सुरक्षित आवास हस्तान्तरण कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयके सचिव डा. मदनसिंह धामी उपभोक्ता मार्फत घर निर्माण भएकोले समयमा सम्पन्न र बलियो बनेको बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सहसचिव विश्वदिप बेश्राले विपतपुरको सुरक्षित आवास उदाहरणीय रहेको बताए ।
हयाविटयाट् नेपालका वरिष्ठ प्रबन्धक अम्लेश्वर सिंहले सुरक्षित आवास निर्माण गर्न पाएकोमा गर्व महशुस गरे ।
राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकले कैलारीका मुक्तकमैया कमलरीहरुको अवस्था नाजुक रहेको बताए ।
लाभग्राही समुदायका कार्यवाहक अध्यक्ष जानकी चौधरीले आगलागी पश्चात धेरै दुःख झेल्नु परेको बताइन् । अहिले सुरक्षित आवास पाएपछि उनले खुशी लागेको बताइन् । साथै उनले विपतपुर र मिलनपुर बस्तीका बाँकी परिवारका लागि पनि सुरक्षित आवास बनाइ दिन आग्रह गरिन् ।
हयाविटयाट् नेपालक पश्चिम परियोजना प्रबन्धक पुनिता चौधरीले आगलागी पीडित परिवारका लागि २७ घर जेठ मसान्तमै निर्माण सम्पन्न गर्ने लक्ष्य सहित अगाडी बढेको र समयमै काम सम्पन्न भएको बताइन् । उनले भजनीमा २५, कञ्चनपुरमा २५ र दिपायल सिलगडीमा ७ वटा सुरक्षित आवास निर्माण गरेको बताइन् ।
हयाविटयाट नेपालका कार्यक्रम संयोजक राममनि चौधरीले निर्माण भएको घरमा दुई वटा कोठा, बरण्डा, एक भन्सा र चर्पी रहेको बताए ।
२०७९ साल बैशाख ११ गते गहुँका नालमा लागेको आगो एक्कासी बस्तीमा सल्केर २७ घर पूर्णरुपमा जलेको थियो । सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र हयाविटयाट् नेपालको सहकार्य तथा राष्ट्रिय दलित नेटवर्कको सामाजिक परिचालनमा आगलागी पीडित २७ परिवारका लागि रु. १ करोड ८२ लाख ७८ हजार रुपैयामा सुरक्षित आवास निर्माण गरिएको छ ।
कार्यक्रममा विशिष्ट अतिथी कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरी, वडा नमबर ७ का कार्यवाहक अध्यक्ष सुन्दरी चौधरी, गाउँपालिकाका कर्मचारी, सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कर्मचारी, हयाविटयाट् नेपाल प्रतिनिधि, राष्ट्रिय दलित नेटवर्कके प्रतिनिधि र लाभग्राही समुदायका उपस्थिति रहेको थियो ।