२४ कार्तिक २०८१, शनिबार November 9, 2024

त्रिनगर भन्सारमा प्लान्ट क्वारेन्टिन सुचारु गर्न माग

१७ भाद्र २०८०, आईतवार
त्रिनगर भन्सारमा प्लान्ट क्वारेन्टिन सुचारु गर्न माग

धनगढी । कैलालीको त्रिनगर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन सुचारु गर्न कैलाली उद्योग वाणिज्य संघले माग गरेको छ । संघले आइतबार पत्रकार सम्मेलन मार्फत प्लान्ट क्वारेन्टाइनको टुरमुकाम सञ्चालन र स्थायी कार्यालय स्थापनाका लागि माग गरेको हो । उक्त क्वारेन्टिन कार्यालयको टुरमुकाम कार्यालय बन्द भएपछि खाद्यान्न, तरकारी र फलफूल आयात ठप्प भएको कारण संघले सुचारु गर्न माग गरेको हो ।


क्वारेन्टिन कार्यालयको टुरमुकाम कार्यालय एक मात्र कर्मचारीले सञ्चालन गरिरहेको अवस्थामा ती कर्मचारी तालिमका लागि बिदा लिएर गएपछि कार्यालय बन्द हुँदा खाद्यान्न, फलफूल र तरकारीको गुणस्तर परीक्षण हुन सकेको छैन । जसका कारण तीन सातादेखि आयात ठप्प भएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ । सो प्लान्ट क्वारेन्टिन एकाएक बन्द हुँदा कृषिजन्य वस्तु निकासी पैठारी गर्ने उद्योगी व्यवसायीले असहजता भोगिरहेको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । उनले कृषिजन्य वस्तुको निकासी पैठारी रोकिँदा सरकारले प्राप्त गर्ने राजस्वमा समेत असर परेको बताए ।
यसैबिच संघले शनिबार कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएको छ । अर्थ मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भन्सार विभाग र प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रलाई बोधार्थसहित प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा त्रिनगर भन्सार कार्यालयस्थित प्लान्ट क्वारेन्टिन टुरमुकाम कार्यालयलाई तत्काल पूर्ववत् रुपमा सञ्चालन गर्न माग गरिएको छ ।
प्लान्ट क्वारेन्टिनको टुरमुकाम कार्यालयले खाद्यान्न, तरकारी र फलफूलमा रहेको विषादी, कीटजन्य संक्रमण परीक्षण गरी मापदण्ड पुगेको भए आयात गर्न सिफारिस दिने गरेको थियो । सोही अनुमतिका आधारमा भन्सार कार्यालयले भन्सार जाँचपास गरी राजस्व लिएर आयात अनुमति दिने गरेको छ ।
तर, उक्त कार्यालय बन्द भएपछि भन्सारबाट तरकारी, खाद्यान्न र फलफूल आयात रोकिएको छ । गड्डा चौकीबाट आयात गर्दा भारतले बनबासा पुलको सीमित भारवहन क्षमताको कारण मालवाहक ट्रक ल्याउन नदिने र नेपालगन्ज नाकाबाट ल्याउँदा ढुवानी मूल्य बढ्ने भएकाले खाद्यान्न, तरकारी र फलफूल आयातमा असहज भएको जनाएको छ ।
प्रदेशको उत्पादन खपत भई अपुग भएको १ लाख टन तरकारी, खाद्यान्न र फलफूल भारतबाट आयात हुने गरेको छ । आपूर्तिको आधा परिणाम खाद्यान्न, तरकारी र फलफूल त्रिनगर नाकाबाट मात्रै आयात हुने गरेको छ । भन्सारको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९–८० मा ५५ हजार ९४५ टन खाद्यान्न, तरकारी र फलफूल त्रिनगर भन्सार नाकाबाट भित्रिएको थियो ।