२० मंसिर २०८१, बिहीबार December 5, 2024

थारू समुदायको आफ्ना पूर्वजहरू सम्झिने ‘डसिया पर्व’

१३ आश्विन २०७९, बिहीबार
थारू समुदायको आफ्ना पूर्वजहरू सम्झिने ‘डसिया पर्व’

थारू समुदायमा डसिया (डस्या) आफ्नो पूर्वजहरूको मृत–आत्माले शान्ति पाओस् भनी पूर्खाहरूको सम्झनामा मनाइन्छ । जसरी मृत्यु संस्कारमा छूत (जुठो पर्नु) मानेर आफ्ना सबै कुल देउताहरूलाई खली पानीले नुहाइदिने चलन छ, त्यसरी नै डसियामा पनि पूर्खाहरूको मृत्युको कारण जुठो परेकोले देउता नुहाउने काम हुन्छ ।

अहिले प्रकृति पूजक थारू समुदायमा ‘डसिया’ र आमनेपालीहरूको महान् चाड दशैं पनि घर आँगनमा आइपुगेको छ । उसो त समय क्रमसँगै डसिया र दशैं एउटै हो भन्ने बुझाइ पनि छ हाम्रो समाजमा । तर, यो भ्रम हो । यो पर्व लगभग उही तिथि उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक हो । यसको विधि प्रक्रिया र यससँग जोडिएको मिथक, मूल्य मान्यताहरू हेर्यौं भने डसिया र दशैंमा फरक छ ।

थारू समुदायमा डसिया (डस्या) खास गरी आफ्नो पूर्वजहरूको मृत–आत्माले शान्ति पाओस् भनी पूर्खाहरूको सम्झनामा मनाइन्छ । जसरी मृत्यु संस्कारमा छूत (जुठो पर्नु) मानेर आफ्ना सबै कुल देउताहरूलाई खली पानीले नुहाइदिने चलन छ, त्यसरी नै डसियामा पनि पूर्खाहरूको मृत्युको कारण जुठो परेकोले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोख्याउने । काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने । देउता अनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिने । भित्तामा बकुल्ला बनाउने परम्परागत चलन छ । मृत–आत्माले शान्ति पाओस् र यिनै बकुल्ला माथि सवार गरी सकुशल स्वर्ग जाऊन् भनी बकुल्ला बनाउने चलन छ । देउता पठाएको भन्ने चलन पनि छ । थारू आफ्नो पूर्खाहरूको सम्झनामा अथवा शोकमा डसिया मनाउँछन् ।

दशैंमा हिन्दु धर्मावलम्बीहरूले देवता र दानवहरू बीचको लडाईमा देवताहरूले विजयी प्राप्त गरेको मिथक छ र विजय-उल्लासको साथ मनाउँछन् । मान्यजनहरूबाट रातो टीका लगाउने र दुर्गाको पूजा गरी मनाउँछन् । थारू समुदायमा कुनै पनि घरमा न दुर्गा, न रामको पूजा हुन्छ । किनकी दुर्गा र राम थारूहरूको मौलिक देउता होइनन् । थारू समुदायका आफ्ना मौलिक देउताहरूमा गुर्वावा, खेखरी–मैया, लागुबासु, सौंरा, डहरचण्डी, ढमरज्वा, जगन्नठ्या, लगायतका रहेका छन् । यी देउता अनुसार कुनै देउतालाई जल, रक्सी, कसैलाई जल मात्रै त कसैलाई जाँड पनि चढाएर पूजा गरिन्छ । जमरा र बाबरी भने सबै देवी देउताहरूलाई चढाएर परम्परागत मान्यता अनुसार पूजा गरिन्छ ।

डसिया असोज महिनामा पर्छ । तर कहिंलेकाहीं कात्तिक महिनामा पनि पर्छ । अन्य समुदायमा जस्तो दहित थरका थारू बाहेक थारू समुदायमा घटस्थापनाको दिन जमरा राख्ने चलन छैन । औंसी मुँवल डिन (मरेको दिन)को रूपमा लिने गरिन्छ । त्यसकारण औंसीको दिनलाई छुत मान्ने गरिन्छ । औंसीको दोस्रो दिन डुटिया (अर्ध चन्द्रमा) हेर्ने चलन छ । यस दिन घरमुलीले डुटिया नहेर्दासम्म भोकै रहनुपर्छ । डुटिया हेरिसकेपछि घरमुलीले नुहाई धुवाई गरी भोजन गर्छन् । पहिले पहिले डुटियालाई निशाना बनाई बन्दुक पड्काउने (डाग्ने) चलन थियो । अहिले बन्दुक नै प्रतिबन्ध गरिएकोले यो चलन पनि हटिसकेको छ ।

डुटिया हेरेर अर्को दिन तृतीयका दिन थारू समुदायमा जमरा राख्ने चलन छ । कसैकसैले भने डुटिया हेरेकोकै दिन साँझ राख्ने गरेको पाइन्छ । बिहान नुहाइ–धुवाइ गरी जमरा राखिन्छ । जमरा कोरा मल्सी (प्रयोग न गरिएको माटोको भाँडा)मा राखिन्छ । जुन मकैको जमरा हुन्छ । मल्सी नभए डेहुरार (देउथान)को पाटा माथि भुइमा राख्ने चलन छ । यो अँध्यारो कोठामा राखिने हुनाले हरियो नभई यो पहेंलो हुन्छ । डसियामा जमरा र बेबरी (बाबरी) बाहेक अन्य फूल चढाउने चलन छैन । उसो त थारू समुदायमा कुनै पनि पूजामा फूल चढाउने चलन छैन । जुन थारू जातिको अलग विशेषता हो ।

पञ्चमीको दिनलाई ‘झोलझराइ’ भनिन्छ । घरमा भएको माकुराको जालो (झोला) कुनाकाप्चा सफा गरिन्छ । यसै दिन दहित थरका थारूहरूले सराढ (श्राद्ध दिने) पर्छ । सराढ पूज्नका लागि दहितहरूले चोरेर ल्याएको पुज्य सामग्रीले पूजा गर्छन् । श्राद्धको दिन पिडालु, केरा, माछा लगायत तरकारी चोरेर ल्याएमा उनीहरूलाई चोर लाग्दैन । त्यो दिन दहितहरूलाई चोरी गर्न छूट हुन्छ । चोर समातिए पनि जरिवाना आममाफी दिने नियम छ । तर, यो समयसापेक्ष छैन । पूजा गर्नका लागि गरिने चोरी पनि दुरूपयोग हुने अथवा पूजाको नाममा आवश्यकताभन्दा बढी तरकारी, केरा चोरीले विकृत रूप लिन थालेपछि अहिले पहिलेको जस्तो सहज छैन । आजकाल आवश्यकता जतिको तरकारीहरू ल्याएर पूजा गरेको पाइन्छ । दहितहरूको पूजा महिलाहरू गर्छन् । अन्य थरका थारूहरूको भने पुरुषले नै पुज्ने गर्छन् ।

त्यसैगरी षष्ठीको दिनलाई ‘पिलोर खेलैना’ दिन भनिन्छ । पिलोर भनेको घर पोत्नका लागि तयार गरिएको ढौरा माटी (घर पोत्ने सेतो माटो) हो । जुन माटोले थारू समुदायमा घर पोत्ने गर्छन् । यस दिन घरको भित्ता पोत्नुका साथै घरभित्र र बाहिर लिपपोत पनि गरिन्छ ।

सप्तमीको दिन ‘मच्छिमराइ’ भएकोले त्यस दिन नजिकैको खोला, कुलो, पोखरी आदिबाट माछा मार्न जाने चलन छ भने देउता भएको घरका मान्छेहरू ‘पैनसटोपी’ धुन्छन् । पैनसटोपी पुज्नका लागि बनाइएको ढिक्री उसिन्ने ढकियालाई भनिन्छ । पैनसटोपी धुने काम अनिवार्य रहन्छ । यो काम घरको गढुनियाँ (घरमूली महिला) ले गर्नुपर्छ अथवा उनले अह्राएको मान्छेले गर्नुपर्छ ।

अष्टमीको दिन देउता पूज्ने घरको गढुर्या–गढुनियाँ (घरमूली महिला–पुरुष) लाई पूजा नसकिँदासम्म दिनभरि भोकै बस्नुपर्छ । साँझ पूजा प्रारम्भसँगै ट्रासन (मृदङ उर्दी, एक विशेष तालमा मादल बजाएर निम्तो गर्ने विधि) बजाएर सबै देउता पूर्वजहरूलाई निम्तो गरिन्छ । यसरी ट्रासन बजाएपछि पूर्वजहरूको अदृश्य रूपमा सहभागी हुने जनधारणा छ ।

सुरुमा डेहुरार रहेका र बाहिर रहेका सबै देउताहरूका अगाडि राखिएका दियोहरू खली पानीले घरको गढुनियाँबाट नुहाइदिने काम हुन्छ र सुनपानी छर्केर नयाँ दियो बालिन्छ । त्यसैगरी प्रत्येक देवी देउताहरूका अगाडि मालुकाको पातमा जमरा, बाबरी, गोलो ढिक्री, चढाइनुका साथै रक्सी (टौला र बजारी) र जल चढाएर पूजा गरिन्छ । देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रूपमा कुभिण्डोको भेंडा बनाएर पूजा गरिन्छ । त्यसैगरी गोठमा ढमरज्वा, पूर्वको आँगनमा ‘पूर्वी’ लगायत अन्य देउताहरूलाई पनि पुजिन्छ । थारू समुदायमा प्रत्येकको घरमा देउता हुँदैनन् । विशेष जेष्ठ सुपुत्रको घरमा राख्ने परम्परा छ । जो कुनै थर या कुलको गाउँभरिमा एक दुइ घर मात्र देउता राखिएको हुन्छ । अन्य घरको डेहुरार निशान भने प्रत्येकको घरमा हुन्छ र डसियामा पूजा पनि प्रत्येकको घरमा हुने गर्छ ।

पूजा गर्नेबेला बानधूप चढाउनु पर्छ । डसियामा यो अनिवार्य हुन्छ । बानधूप भनेको गुर्वा (थारू पुरोहित)हरूले आफ्नो निधार, जिब्रो, पाखुरा, छाती र गोडा (जाँघ) चिरेर निकालेको रगत र धान लगायत सात किसिमको फूल लोर्हके (फूल टिपेर) बनाएको विशेष धूप हो । जुन डसियामा मात्रै आफ्नो देउतालाई चढाइन्छ । यो बानधूप पनि धेरै जसो थारूहरू दहित थरका बाट ल्याएर चढाउँछन् । अन्य थरको गुर्वाहरूले पनि चलाउँछन् । तर अब बानधूपको नाउँमा बजारको अगरबत्ती सल्काउने चलन पनि आइसकेको छ । टीकाको रूपमा देउताहरूलाई सिन्दुर लगाउने चलन छ । पूजा गरिसकेपछि दिनभरि भोकै बसेका गढुर्या–गढुनिया भोजन ग्रहण गर्छन् ।

यस रात रातभरी देउता जगाउँछन् । देउता जगाउनुलाई ‘दियो जगाउने’ पनि भनिन्छ । रातभरि जाग्नु पर्ने हुनाले नाचगान पनि गर्छन् । नाचगान नभए बर्किमार गाएर रात काट्छन् । देउता जगाउनेहरूलाई डेहुरारको पाटा माथिको रक्सी पिउन मिल्छ । पाटामा राखिएको रक्सीलाई ‘भेंर्वा’को रक्सी पनि भनिन्छ ।

बिहान नवमीको दिन गढुरियाले नुहाएर नयाँ बर्हनी (सिरुको झारु) काटेर ल्याउनु पर्छ । पुरानो बर्हनी हटाएर प्रत्येक वर्ष नयाँ बर्हनी राखिन्छ । जुन एक वर्षपछि दोश्रो डसियासम्मको लागि राखिन्छ र अर्को डसियामा फेरि बर्हनी फेरिन्छ । यता अघिल्लो दिनजस्तै जमरा–बाबरी चढाएर कुखुराको बलि दिने चलन छ । कुखुरा सबै थारूको घरमा बराबरी संख्यामा पुजिदैन । खास देउता भएका घरका मानिसले सातदेखि पन्ध्रवटासम्म कुखुरा र डिँवा (समयावधि) अनुसार भेंडा, बाख्रा, सुँगुर पुज्दछन् भने अन्यको घरमा एक अथवा तीनवटा आफ्नो चलन अनुसार कुखुरा पूज्दछन् । बलीसँगै जमरा, बाबरी, रक्सी, बानधूप चढाएर देउताहरूलाई सेतो टीका लगाइन्छ । बली सबै देउताहरूलाई चढाइदैन ।

थारू समुदायमा गुर्वावा, खेखरी–मैया, लागुबासु, सौंरा, डहरचण्डी, ढमरज्वा, जगन्नठ्या, लगायतका देउता अनुसार दूध, पानी, रक्सी, जाँड पुज्ने चलन छ । ‘जँडछब्बा’ थारू आफ्नो ‘नक्छेडिया’ देउतालाई जाँड चढाउँछन् । जाँड चढाउने चलन अन्य थरका थारूहरूमा छैन । पूजामा सबै थरका थारूहरूमा केही भिन्नता पाइन्छ । यो देउता फरक–फरक भएको कारणले यस्तो भएको हो ।

डेहुरार पिट्टर (पिण्ड) दिने चलन पनि छ । पिट्टर दिँदा बिजोर संख्याको टपरीमा भात लगायतका खाने कुरा राखेर पूजा गरिन्छ । पुस्ता अनुसार ३, ५ या ७ वटा टपरी राख्ने चलन छ । यसले टपरीको संख्याको आधारमा यति पुस्ताका पूर्वजहरूलाई पिण्ड दिएको भन्ने बुझाउँछ । पूजा सकिएपछि महिलाहरू नदी घाट, कुलामा पिट्टर सेलाउन जान्छन् । पिट्टर सेलाउन जाँदा करै (माटाको रक्सी राख्ने भाँडो)मा छाँकी (रक्सी), समूह–समूहमा महिलाहरू ढकियामा डेहुरार राखिएको पुरानो बर्हनी, पूजा गरेको जमरा, बाबरी, कुपिण्डोको भेंडा लगायत जुन–जुन ठाउँ पूजा गरिएको हुन्छ, ती सबै ठाउँ सफा गर्दा निस्किएको फोहर लिएर जान्छन् । साथै खानपिनको लागि छाँकी र तरकारी पनि लिएर गएका हुन्छन् । सेलाई सकेपछि सबैजना मिलेर आ–आफ्नो लिएर आएको छाँकी सबै मिली खान्छन् र मनोरञ्जन पनि गर्छन् । घाटमै अलिअलि नाचगान पनि गर्छन् । अरु दिन डसिया मनाउन आएका पाहुनाहरूलाई खुवाउने पिलाउने महिलाहरू आजको दिन अलि बढी नसामा देखिन्छन् ।

यता पुरुषहरू घर गुर्वा, देशबँढिया गुर्वालाई टीका लगाउन जान्छन् । करैमा छाँकी, जमरा, बाबरी लिएर आफ्नो गुर्वाको घर जान्छन् । टीका लगाउन जानेहरू केही मनोरञ्जन पनि गर्छन् । आफ्नो इच्छा अनुसार सबैजना मिलेर मासु, रक्सी ल्याउँछन् र रीति अनुसार गुर्वालाई दक्षिणा दिन्छन् । जब गुर्वाले आफ्नो डेहुरार पूजा पाठ गरी सक्छ अनि टीका लगाउने काम शुरु हुन्छ । टीका सेतो पीठो अथवा चामलको हुन्छ । सबैजना टीका लगाई खानपिनमा लाग्छन् । केही समयपछि सबैको देउता मिलाउनको लागि गुर्वाले आफ्नो प्रक्रिया पूरा गर्छ र गुर्वा मान्छेहरू गुरै खेल्छन् । गुरै खेल्नु भनेको मन्त्रद्वारा देउता सवार भई काम्ने क्रिया हो । गुर्वाहरूमा जब देउता चढ्छ तब काँप्दै डेहुरार, बहरी र आँगनमा अखरिया खेल्छन् । अखरिया खेल्नु भनेको मादलको तालमा लठ्ठी लिएर नाँच्नु हो । आजको दिनलाई नयाँ गुर्वा बन्ने दिनको रूपमा पनि लिइन्छ । सुस्वाइबेर (गुर्वा खेल्ने बेला) पच्रा गाउँछन् । जुन यस प्रकार छ ः

‘हेरि लेओ रि मैया हेरि लेओ रि,
आपन घरडुवार हेरि लेओ रि ।’

गाउँमा सामुहिक टीका लगाउने चलन पनि छ । यसलाई ‘राजा–टीका’ पनि भनिन्छ । गाउँको महटवा अथवा ककन्डरवाले भुइँह्यारथानमा टीका लगाई सकेपछि गाउँको टीका खुल्छ । गाउँभरि घर–घर आफ्नो मान्यजनहरूको हातबाट टीका लगाउँछन् र आशिर्वाद लिन्छन् । यो टीका सेतो पीठोको हुन्छ । सेतो टीका शान्तिको प्रतिक पनि हो ।

टीका लगाई सकेपछि गाउँका बठिनियाँहरू (तरुनी केटीहरू) ले नाचगान गर्छन् । गाउँभरि घर–घर गई नाचगान गर्छन् जसलाई ढुर झर्ना भनिन्छ । बठिनियाँहरू बर्का नाच, सखिया, पैंया नाच नाच्छन् । नाच गाउँको मुखियाको घरबाट शुरु हुन्छ र गाउँभरि नाचिन्छ । सखिया नाच मादलको तालमा मजुराले नाच्ने नाच हो । यो नाचमा गीत पनि गाइन्छ तर गीत गौण हुन्छ । कहिंले गोलाकार त कहिंले पंक्तिबद्ध भई नाचिने यो नाच हात खुट्टाको ताल मिलाएर शरीरलाई लचिलो पारी मंजुरा बजाइन्छ । सखिया नाच दशैं–तिहारमा नाचे पनि यसको गीतको सन्दर्भ भने श्रृष्टि र कृष्णको जीवनसँग सम्बन्धित छ । जस्तै;

‘सखि रे ! लेउ लेउ इसरु रे
आपन भाट भटौरा,
सखि रे ! जाओ रे इसरु हरवा उहारे’

यसरी युवतीहरू ठरपैंया (विशेष ताल)मा नाँच्छन् । पैयाँ पनि मादलको तालकै प्रधानता हुन्छ । यो पनि मजिराले नाच्छन् । ठरपैयाँ लगाउने बेला गाउने गीत यस किसिमको छ;

‘उरि उरि भौरा टिकुलि पर बैठे रे हाँ,
ए हो भौँरक छुवल मोर टिकुलि मलिन हो ।’

आजको दिन साँझ नयाँ बिहे गरेका दुलहाहरूले आफ्नो ससुराली टीका थाप्न जाने छुट्टै चलन पनि छ । थारू साुदायमा टीका थाप्न जाँदा एउटा भाले कुखुरा, मचिया (सुटलीले बुनेर बनाइएको मुडा जस्तै चार खुट्टे बस्ने साधन), हाते पंखा लिएर जान्छन् । मचिया रातो, हरियो रंगले रंगाइएको डोरी बुनेको हुन्छ भने हाते पंखा सिरिसको डाँठ धागोेले बुनेको अथवा सिरिस नभए बाँसले बुनेको हाते पञ्खा लिएर जान्छन् । बेनामा चाँरैतिरबाट कपडाले बेरेर हुन्छ र मयूरको पखेटा लगाएर सुन्दर बनाइन्छ ।

टीका थाप्न दुलहाहरू एक्लै जाँदैनन्, सँगै एक जना साथी भरिया पनि लिएर जान्छन् । भरिया भारी बोकेर जान्छ भने दुलहा चाहिं खाली जान्छन् । भरियाको काम भारी बोक्ने मात्रै हुँदैन । दुलहाको सुरक्षाको लागि पनि गएका हुन्छन् । घरबाट निस्किने बेला साजल चाउर (गुर्वाले साजेको अछेता) खल्ती अथवा लुगाको एउटा कुनामा बेरेर राख्छन् । टीका थाप्न जाँदा भूत–बोक्सी लाग्छन् भने जनविश्वास छ । त्यसकारण दुलहा जहाँ–जहाँ जान्छ, भरिया पनि सँगै जान्छ । दुलहालाई गाउँका बठिनियाँहरूले स्वागत गर्छन् । दुलहा पुग्नु अगावै फूल र माला उनेर तयार हुन्छन् र पुग्ने बित्तिकै फूलमाला पहिराई स्वागत गर्छन् । दुलहाले पनि उनीहरूलाई दक्षिणा स्वरूप केही पैसा अथवा चुरोट, बिडी चलन थियो । अहिले चुरो बिंडीको सट्टा नगद दिने चलन आइसकेको छ ।

ससुरालीमा मानसम्मान त हुने नै भयो । टीका थाप्न गएको बेला मासुमा कुखुराको फिलौंडा (सफेटा, लेग पिस) विशेष हुन्छ । पहिले पहिले नयाँ दुलहाहरू लाज सरम मान्थे । दिएको फिलौंडा खायो कि खाएन भनेर खुबै ख्याल पनि हुन्थ्यो । धेरैजसो मानिसहरू नयाँमा लाजले खान सक्दैनथे । आजभोलि त्यस्तो अवस्था छैन । टीका थाप्दा ससुरालीबाट केही रकम अथवा कुनै उपहार दिएर बिदाई गरिन्छ । टीका ससुरालीमा मात्रै लाउँदैनन् । सके दुलहीको मामाघर, दिदी–बहिनीको घर, ठूलाबुवा, काका, फुपूहरूको घर पनि लगाउने चलन छ । तर आजभोलि यो चलन पनि हराउँदै गएको छ ।

दुलहा टीका थाप्न गएजस्तै नवदुलहीहरू पनि ‘पहुनी’ जाने चलन छ । बिहे भएको झण्डै १ वर्ष गोंरी बुन्न भनेर नयाँ दुलहीलाई छुट्टी दिइएको हुन्छ । दुलहीहरू छुट्टीको समयमा आफ्नो माइतीमा बसेर गोंरी बुन्छन् । यसरी छुट्टी पाएको अवधिभरि उनीहरू पाहुनीको रूपमा बसेका हुन्छन् । डसिया, डेवारीमा मामा, फुपू, दिदीहरूको घर पहुनी खान जान्छन् । पहुनी खान ढिक्रीको पहुरा (कोसेली) लिएर जान्छन् । त्यहाँबाट पनि उनीहरूलाई आफ्नो हैसियत अनुसार नगद या उपहार दिने चलन छ । यसरी पहुनी खाएर उनीहरू मंसिरमा आफ्नो घर (दुलहाको घर) आउँछन् ।

यसरी डसियासँग थारू समुदायको धेरै चिज जोडिएको छ । तर समय परिवर्तनसँगै थारूहरूले आफ्नो मौलिक संस्कृतिहरू छोड्दै गएका छन् र बाह्यसंस्कृतिप्रति आकर्षित पनि हुँदै गएकाछन् । समय अनुसार परिवर्तन हुने कुरा ठीकै हो तर हामी हाम्रो सबै चिज बिर्सिएर अरुको कला, संस्कृतिमा आकर्षित हुनु राम्रो कुरा होइन । त्यसकारण आफ्नो कला, संस्कृति जोगाउनको लागि सबैजना लाग्नै पर्छ ।