७ बैशाख २०८१, शुक्रबार April 19, 2024

विपद्मा भजनी, अझै हुन सकेन बाढी पीडितको उद्धार

२ आश्विन २०७९, आईतवार
विपद्मा भजनी, अझै हुन सकेन बाढी पीडितको उद्धार

धनगढी । शनिवार आएको बाढीका कारण कैलालीका करिब छ हजार परिवार विस्थापित भएका छन् ।
जसमा भजनी नगरपालिका सबैभन्दा बढी बाढीको विपद्मा परेको छ । जम्मा ५८ हजार जनसङ्ख्या रहेको भजनी नगरपालिकामा ३५/४० हजार घरपरिवार प्रभावित भएका छन् । पाँच हजारभन्दा बढी परिवार विस्थापित भएर सडकमा आइसकेको र धेरैको अझै उद्धार नै हुन नसकेको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।
‘अझै पनि धेरै मान्छे घरको छाप्रोमा बसेका छन् । डुङ्गा बिना उनीहरूको घरसम्म पुग्न सक्ने स्थिति छैन । उनीहरूको उद्धारै भएको छैन’, उनले भने,‘प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयलाई हामीले हेलिकोप्टरमार्फत उद्धारका लागि गुहार्यौं । तर, सुनुवाइ भएन ।’


उद्धारको पर्खाइमा रहेकाहरू हिजोदेखि घरको छाप्रोमा बसिरहेको चौधरीले जानकारी दिए । उनले सबै उद्धार कार्यकै लागि खटिरहेकाले अहिलेसम्म कसैलाई राहत पनि वितरण नगरिएको उल्लेख गरे । ‘मान्छेको उद्धारै भएको छैन’, उनले भने,‘हामी उद्धारलाई प्राथमिकता दिएका छौँ । राहत पछिको कुरा हो ।’
तर, जिल्ला प्रशासन कार्यालयले भने बाढीमा फँसेका लगभग सबैको उद्धार भइसकेको जनाएको छ । ‘सम्पर्क हुन नसकेका वा सम्पर्कमा आउन नसकेकाहरुको उद्धार हुन छुटेको होला’, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने,‘तर, सम्पर्कमा आएका लगभग सबैको उद्धार भइसकेको छ ।’
रहेन ठेङ्गरपुर गाउँ
भजनी नगरपालिका–१ मा रहेको ठेङ्गरपुर गाउँ भग्नावशेषमा परिणत भएको छ । सय घरधुरी रहेको सो गाउँलाई कान्द्रा नदीको बाढीले भग्नावशेषमा परिणत गरेको नगरपालिकाका प्रवक्ता चौधरीले बताए ।‘४०÷४५ घरको त केही पनि बाँकी रहेन’, उनले भने,‘सबै बाढीले लग्यो ।’
यसैबिच, सबैभन्दा बढी प्रभावित भजनी नगरपालिकामा बाढी पीडितको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली त्यसतर्फ जाने जनाइएको छ । साथै, आजै नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रभावितहरूलाई न्यायोचित राहत र पुनर्लाभका कार्यक्रम एक द्वार प्रणालीमार्फत अगाडि बढाइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
स्थानीय तह, प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समिति सबै समन्वय गरेर एकद्वार प्रणालीमार्फत प्रभावितहरूलाई राहत दिइने सूचना अधिकारी जोशीले जानकारी दिए ।


शनिवार मोहना, कान्द्रा, कर्णाली, पथरैया, कटैनी लगायत नदीनालामा आएको बाढीले कैलालीमा वितण्डा मच्चाएको हो । बाढीका कारण धनगढी उपमहानगरपालिका–१३ की २० वर्षीया नवीना चौधरी र भजनी नगरपालिका–८ गोरचौराका ५५ वर्षीय कालुराम चौधरीको ज्यान गएको छ ।
विस्थापित व्यक्तिहरू हुलाकी राजमार्ग, सडक, विद्यालय भवन, सुरक्षित भवन र पक्की घर भएका आफन्तहरूको छतमा बसिरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घरबाट पानी ननिस्किएकाले विस्थापितहरू सहज रूपमा घरमा फर्कन सक्ने वातावरण अझै नरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।
उनले मोटामोटी रूपमा आएको तथ्यांक अनुसार भजनी नगरपालिकाका करिब पाँच÷छ हजार, टीकापुर नगरपालिकाका ८०÷९० परिवार, जानकी गाउँपालिकाका ७०÷८० परिवार विस्थापित भएको खबर आएको उल्लेख गरे ।
यसैगरी, चार सय परिवार डुबानमा परेको जोशीपुर गाउँपालिका र झन्डै दुई सय घर डुबेको कैलाली गाउँपालिकाको विस्थापितको तथ्यांक जिल्ला प्रशासन कार्यालयसम्म आइपुगेको छैन ।
विस्थापितहरूको यकिन तथ्यांक नभएका कारणले एकद्वार प्रणालीबाट राहत वितरण गर्न पनि समस्या भइरहेको जोशीको भनाइ रहेको छ । ‘तथ्यांक यकिन नभएका कारणले राहत वितरण गर्न सकिएको छैन’, उनले भने ।