२२ भाद्र २०८१, शनिबार September 7, 2024

सुदूरपश्चिममा ६७ हजार बढी अपाङ्गता भएका व्यक्ति

२८ भाद्र २०७९, मंगलवार
सुदूरपश्चिममा ६७ हजार बढी अपाङ्गता भएका व्यक्ति

कैलाली । सुदूरपश्चिममा ६७ हजार ८३२ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । जनगणना २०६८ का अनुसार उक्त संख्यामा अपाङ्गता भएका व्यक्तिहरु रहेका तथ्यांक रहेको छ । त्यस मध्ये कैलालीमा सबैभन्दा बढी ८ हजार १४३ पुरुष र ७ हजार २३५ सहित १५ हजार ३७८ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।
त्यसपछि क्रमशः कञ्चनपुरमा ९ हजार ७२, अछाममा ८ हजार ६०२, बैतडीमा ७ हजार ७८८, डोटीमा ७ हजार ३०२, बाजुरामा ५ हजार ८९५, डडेल्धुरामा ५ हजार १५०, बझामा ४ हजार ९७६ र दार्चुलामा ३ हजार ३६९ जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।
जनगणना २०६८ कै अनुसार नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत अर्थात पाँच लाखको संख्यामा अपाङ्गता भएका व्यक्ति रहेको छन् । जसमध्ये मनोसामाजिक अपाङ्गता भएका पुरुष १६ हजार ७८७ र महिला १४ हजार २१० सहित ३० हजार ९९७ जना रहेका छन् । जुन कुल अपाङ्गताको ६ प्रतिशत हुन आउँछ ।
जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड, ६६ लाख २० हजार ८०९ रहेको छ ।
नेपालमा यतिका संख्यामा अपाङ्गता भएका व्यक्ति रहे पनि उनीहरुको सवाललाई मूल प्रवाहीकरण गर्न नसकेकोमा राष्ट्रिय अपाङ्गता महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउद दुखेसो पोखे ।
अध्यक्ष साउदले अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक वा अन्य कुनै क्षेत्रमा सहभागिता गराउनु पर्नेमा जोड दिए । यसै बिच सञ्चारमाध्यममा मनोसामाजिक अपाङ्गताको सवाललाई मूलप्रभाहीकरण सम्बन्धी अन्तक्रिया भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलले सञ्चारमाध्यमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथामिकता दिन आग्रह गरे ।
‘अपाङ्गता भएका व्यक्तिहरुको सवाल जुन हिसावले मिडियामा आउनु पर्ने हो, त्यो अनुसार आएको छैन, पक्कै पनि यस कार्यक्रम पश्चात अपाङ्गता भएका व्यक्तिहरुको सवालहरु मिडियामा प्राथामिकता साथ आउने छ’, उनले भने ।
कार्यक्रममा अधिवक्ता जुहारीलाल चौधरीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ बारे सहजीकरण गरेका थिए ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)का परियोजना अधिकृत खडकराम ओडले परियोजना बारे जानकारी गराएका थिए ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनको आयोजना तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको समन्वयमा भएको थियो । कार्यक्रमलाई सहयोग फेल्म नेपालले गरेको थियो ।