काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)की सांसद नरमाया ढकाल (प्रज्ञा)ले रेशम चौधरीलाई जेलमा सडाउन नहुने बताएकी छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थारु समुदायबाट उदाएका नेता चौधरी जस्ता व्यक्तिलाई दोष बिना नै जेलमा सडाउन लागिएको बताएकी हुन्।
’आम निर्वाचन नजिकिँदै छ। आम नेपालीको संघर्ष र बलिदानको प्रतिफलमा आएको गणतन्त्रमा केही तुषहरू बाँकी नै देखिन्छन्। गणतन्त्र सबै जातजाति र वर्गका नागरिकको अधिकार सुनिश्चित गर्न ल्याइएको हो,’ उनले भनिन्, ’थारु समुदायमा जन्मेको निर्दोष उदयमान नेता माननीय रेशम चौधरीजस्ता व्यक्तिलाई बिनाकुनै दोष जेलमा सडाउनका लागि ल्याइएको होइन।’
उनले रेशम चौधरीले निर्वाचनमा सेटिङ गरेर जित्ने राजनीतिक दलका नेतालाई चुनौती दिएको पनि बताइन्। ’निर्वाचनमा सेटिंग गरेर मात्रै जित्ने अवस्थामा पुगेका राजनैतिक दलहरुका लागि चुनौति दिएका छन्,’ उनले भनिन्,’गत निर्वाचनमा ३५ हजार जनताले मत दिई संसदमा पठाएको व्यक्तिका नाममा भोलि त्यो ३५ हजार बढेर ३५ लाख पुग्दा त्यो ३५ लाखमा यही संसदमा भएका कैयौं व्यक्ति पनि गणनामा परिएला पनि।’
उनले रेशम चौधरीको अदालती फैसलाबारे केही नबोल्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फैसला निष्पक्ष छैन, न्यायाधीशहरू राजनीतिक प्रभावमा परेर फैसला गर्छन् भन्नेबारे संसदीय समितिमा थाहा पाइहालियो भन्दै आपत्ति जनाइन्।
चौधरी जनताले पत्याइएका व्यक्ति भएको भन्दै उनले भनिन्, ’जनताले पत्याएको व्यक्ति जो निर्दोष छ र जसका विचार र नेतृत्वमा देशमा एउटा लहरै आइरहेको सन्दर्भमा उसलाई जेलभित्रै राखेर निर्वाचन गरिरहनु कत्तिको न्यायसंगत होला र? त्यसैले, निर्वाचन अगावै उहाँको रिहाइका लागि सम्माननीय सभामुखज्यूमार्फत् नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु।’