धनगढी, ३१ साउन । नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।
शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको हो । सरकारले डायलासिसका लागि सेती प्रादेशिक अस्पतालमा पाँच शय्या, लम्कीचुहा प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार, टीकापुर अस्पतालमा तीन शय्या थप्ने निर्णय गरेको छ । यसै गरी जोगबुढा प्रादेशिक अस्पताल, बयलपाटा अस्पताललगायत अन्य जिल्ला अस्पतालमा दुई÷दुई शय्या थप गर्ने निर्णय गरेको छ ।
डायलासिस शय्या पर्याप्त नभएका कारण मिर्गौलासम्बन्धी समस्याका बिरामीले भोग्दै आएको कठिनाइलाई ध्यानमा राख्दै सरकारले यो निर्णय गरेको हो ।