धनगढी, २० साउन । कैलालीको कैलारी गाउँपालिकास्थित बैजपुरमा रहेको १५ शैय्याको कैलारी आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ ।
संघीय सरकारको लगानीमा निर्माण गरिएको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले एक कार्यक्रमकाबिच उद्घाटन गर्नु भएको हो । हरेक पालिकामा कम्तीमा १५ शैय्याको अस्पताल स्थापना हुनु पर्ने नेपाल सरकारको नीति अनुरुप कैलारी आधारभूत अस्पतालको भवन निर्माण गरिएको थियो । तर, बजेट अभावका कारण सञ्चालनमा आउन सकेको थिएन ।

एक जना मेडिकल अफिसरसहित पालिकामै कार्यरत जनशक्ति व्यवस्थापन गरेर अस्पताल सञ्चालनमा ल्याइएको छ । अस्पतालबाट फार्मेसी, आकस्मिक, ओपिडी, एक्सरे लगायतका सेवा सञ्चालनमा आएको पालिकाको स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीले बताए ।
सुविधायुक्त भवनमा निकट भविष्यमा विभिन्न सेवाहरु थप्दै जाने जनाइएको छ । संघीय सरकारको १८ करोड ५२ लाख रुपियाँ लगानीमा अस्पताल भवन निर्माण गरिएको थियो ।

अस्पताल निर्माणका लागि रोयल कन्स्ट्रक्सन जेभीसंग २०७९ असार २९ मा ठेक्का सम्झौता भएको थियो । बैजपुर गाउँवासीले तत्कालीन सर्वोदय प्राथमिक विद्यालय रहेको १२ कट्ठा जग्गा उपलब्ध गराएपछि अस्पताल भवन निर्माण गरिएको थियो । अस्पताल स्थापनाले सो क्षेत्रका बासिन्दालाई स्वास्थ्योपचारमा सहयोग पुग्ने जनाइएको छ ।