कैलाली, २१ साउन । नेपाल भूमिहीन सुकुमबासी संगठनले देशव्यापीरूपमा आन्दोलनको घोषणा गरेको छ ।
भूमि व्यवस्थापन तथा सकुमबासी समस्या समाधान आयोग खारेजीको विरोधमा संगठनले आन्दोलनको घोषणा गरेको हो । संगठनले आज एक विज्ञप्ति जारी गर्दै दलित र सुकुम्बासीहरूले जग्गाको धनी पुर्जा पाउन लागेको समयमा सरकारले आयोगलाई हठात् खारेजी गरेर सबैलाई निराश बनाएको उल्लेख छ ।
‘सदियौँदेखि जमिनको मालिक बन्ने सपना बोकी बसेका लाखौँलाख भूमिहीन, सुकुमबासी, अव्यवस्थित बसोबासीको छातीमा लात मारेको छ’ अध्यक्ष एवं सांसद शान्ता चौधरीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यसखाले अमानवीय र गैरकानुनी घोर भत्र्सना गर्दै अविलम्ब विगतमा भएको आयोगको पुनर्बहाली गरियोस् ।’
संगठनले लाखौं सुकुमबासीहरू जग्गाको मालिक बन्न लागेको समयमा आयोग विघटन भएकोले त्यसको बहाली गरेर अविलम्ब धनीपुर्जा वितरण गर्नका लागि माग गरेको छ ।
यसका लागि सरकारलाई दवाव दिन भोलि देशैभरका जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, २३ गते देशैभरिका सुकुकमबासी बस्तीमा जागरण कार्यक्रम गर्ने र २४ गते देशैभरि जनसभा गर्ने निर्णय गरेको छ ।