२४ कार्तिक २०८१, शनिबार November 9, 2024

गुरही पर्वमा बिदाको माग

२ भाद्र २०८०, शनिबार
गुरही पर्वमा बिदाको माग

कैलाली । थारू समुदायले मनाउँदै आएको गुरही पर्वको दिनमा सार्वजनिक बिदाको माग गरिएको छ । यस वर्ष गुरही पर्व यही भदौ ४ गते मनाइने भएको छ ।
यस अवसरमा थारु सम्बद्ध संघ संस्थाहरुले उक्त दिन सार्वजनिक बिदाको माग गरेका छन् । थारु कल्याणकारिणी सभा कैलाली, सखी सञ्जाल, थारु लेखक संघ, राष्ट्रिय थारु कलाकार मञ्च, नारु नागरिक समाज कैलाली, थारु विद्यार्थी समाज लगायत संघ संगठनले शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै बिदाको माग गरेका हुन् ।
थारु कल्याणकारिणी सभा कैलालीका माधव थारुले गुरहीको रौनकता गाउँदेखि शहरसम्म मनाउने, यस पर्वमा विशेष गरि थारू समुदायका बालबालिकाहरु रमाउने र नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्नु पर्ने आवश्यकता समेत भएकोले गुरहीका दिन स्थानीय बिदाको माग गरेको बताए ।


उनले गुहरी पर्वमा ज्ञापनपत्र, प्रेस विज्ञप्ती मार्फत बिदाका लागि माग गर्दा पनि थारू समुदायको पर्वका लागि दिइने बिदा सरकारको कार्यतालिकामा नपर्नु र प्रत्येक वर्ष ज्ञापनपत्र बुझाउनु पर्ने स्थितिले उपेक्षित महसुस भएको बताए ।
उनले गुहरीका अवसरमा प्रदेश र सथानीय सरकारको कार्यतालिकामा गुरहीको बिदा नदिइएको देखिएकोले सो दिन तत्काल बिदा घोषणा गर्न पनि माग गरे ।
यसै बिच थारु सम्बद्ध संघ संस्थाहरुको संयुक्त आयोजनमा धनगढीमा पनि भब्यताका साथ गुरही मनाउने भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ गुरही चोकमा हुने गुरही असरैना कार्यक्रमको सम्पूर्ण तयारी भएको आयोजक सखी संजालकी उन्नती चौधरीले बताइन् ।
उनले गुरही असरैना कार्यक्रममा थारू मौलिक परम्परा अनुसार गुरही मनाउनुका साथै विविध सांस्कृतिक कार्यक्तम हुने र गुरही चौकमा गुरहीको मुर्तीको शिलन्यासको कार्यक्रम पनि रहेको बताइन् ।
नागपञ्चमीका दिन मनाइने गुरही पर्व थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा २०६७ देखि धनगढीको गुरही चोकमा संस्थागत रुपमा मनाउँदै आएका छन् ।