धनगढी । वर्षासँगै कैलाली जिल्लाका विभिन्न नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले जिल्लाका दक्षिणपूर्वी क्षेत्रका झण्डै तीन हजार चार सय घरधुरी प्रभावित भएका छन् ।
डुबानका कारण धेरै परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । प्रभावितलाई नेपाल प्रहरी सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । जिल्लाको भजनी, जोशीपुर, कैलारी, जानकीनगर क्षेत्र डुबानबाट बढी प्रभावित भएको छ ।
डुबानले घरभित्र पानीपस्दा खाद्याह्न र अन्य धनमाल भिजेर क्षति पुगेको छ । डुबानको जोखिमा रहेका व्यक्तिलाई ‘मोटर बोड’को प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो । वर्षासँगै मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ । बुधबार प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीको नेतृत्वको एक टोलीले डुबान प्रभावित क्षेत्रको अवलोकन गरी डुबानबाट पुगेको क्षतिबारे जानकारी लिएको छ ।
बाढी र डुबानको समस्या बढ्दै गएपछि कैलाली जिल्लामा निर्माण भएको पूर्व–पश्चिम हुलाकी राजमार्ग स्थानीयवासीको सुरक्षित वासस्थान बन्न थालेको छ । जिल्लाको दक्षिणी क्षेत्रको होचो भू–भाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा स्थानीयवासीको ‘सेल्टर’ बन्न थालेको हो । भइरहेको डुबानको जोखिमबाट जोगिन स्थानीयवासी यो राजमार्ग छेउमा त्रिपालको टहरा बनाएर बस्न थालेका छन् ।