८ बैशाख २०८३, मंगलवार April 21, 2026

दुई वर्षमा झोलुङ्गे पुलको एउटा मात्रै पिल्लर

२३ श्रावण २०८०, मंगलवार
दुई वर्षमा झोलुङ्गे पुलको एउटा मात्रै पिल्लर

धनगढी, २३ सावन । कैलालीको मोहना नदीमा निर्माणाधीन झोलुङ्गे पुलको दुई वर्ष अवधिमा एउटा पिल्लर मात्रै निर्माण गरिएको छ । कैलारी गाउँपालिका–३ र ४ मोहनपुर र भितरिया गाउँ जोड्न दुई वर्षअघि झोलुङ्गे पुल निर्माण कार्य थालिएको हो ।
सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको सो पुल समयमा बन्न नसक्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । डुङ्गाको भरमा जोखिमपूर्ण ढङ्गले ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको छ ।
“पुल बन्छ भन्छन् तर दुई वर्षदेखि एउटा पिल्लर मात्रै छ,” मोहनपुरका स्थानीय छेंगालाल डङ्गौराले भने, “कहिले बन्ने हो, थाहै छैन ।” दुई वर्षसम्म पुल बन्न नसक्दा खुसीमा निराशा आएको गाउँका भलमन्सा शीतल चौधरीले बताए ।
“दुःख बिरामी पर्दा हामीलाई त आउजाउ गर्नै गाह्रो छ,” भलमन्साले भने, “डुङ्गा चलेन भने हाम्रो ओहोरदोहोर नै बन्द हुने गर्छ ।” सङ्घीय योजना भएकाले स्थानीय सरकारलाई झोलुङ्गे पुल निर्माण आयोजनाका बारेमा केही जानकारी छैन । सो पुलको लागत, निर्माण अवधि, पुलको लम्बाइ कति हो ? केही थाहा नभएको कैलारी गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ३ का वडाध्यक्ष सन्तराम चौधरीले निर्माण कम्पनीले पुल बनाउने काममा स्थानीय सरकारलाई अटेर गरेको बताए । ठेकेदारले स्थानीय सरकारलाई नटेरेको “एक वर्षमै हिँडाइदिन्छु भनेर ठेकेदारले भनेका थिए,” उनले भने, “तर अझै बनेन । चाँडै बनाउनु प¥यो भन्दा ठेकेदारले टेर्दै टेर्दैन ।”

पूर्ववडाध्यक्ष कैलाश चौधरीका अनुसार मोहना नदीमा मोहनपुर–भितरिया जोड्ने पुल निर्माणका लागि चार वर्ष अगाडि नै सर्भे भएको थियो । त्यति बेला पुलको लम्बाइ ३१६ मिटर कायम गरिएको थियो ।
दुई वर्ष पुग्नै लाग्दा पनि पुल नबनेको प्रति गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले सङ्घीय र प्रदेश सरकारका सबै आयोजना लथालिङ्ग रहेको बताए । उनले भने, “यो झोलुङ्गे पुल मात्रै हैन, सङ्घीय र प्रदेश सरकारको कुनै पनि आयोजनाको काम सन्तोषजनक छैन ।”
पुल निर्माण कम्पनी एमपी थेगिम सनलाइटका चिरञ्जीवी भट्टले एक वर्षअगाडि सम्झौता भएको जानकारी दिँदै पुल निर्माणको म्याद अझै चैतसम्म रहेको बताए । उनले आउँदो चैतसम्म पुल तयार हुने जिकिर गरे ।
गोरखापत्रबाट