काठमाण्डौं, १० भदौ । दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
१५ साउनमा महाकाली नदीमा बेपत्ता भएका धामी हालसम्म फेला परेका छैनन् । उनको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।
यता संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकले दार्चुला घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न र कुटनीतिक पहलद्वारा दोषीलाई कानूनी कारबाहीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
गत साउन १५ गते महाकाली नदी पार गर्नका लागि तुइन तर्ने क्रममा खसेर दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएका थिए । उक्त घटनामा भारतीय एसएसबीले तुइन खोलिदिएको बताइएको छ । त्यसपछि उक्त घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।
संसदीय समितिले व्यास क्षेत्रको सुरक्षा तथा आवतजावतका लागि सडक, पुल लगायतका पूर्वाधार यथाशीघ्र निर्माण गर्न पनि सुझाव दिएको छ । दार्चुलादेखि तिंकरसम्मको सडक छिटो निर्माण गरी आवतजावत सहज बनाउन र तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण प्रक्रिया तत्काल शुरु गर्न पनि समितिले निर्देशन दिएको छ ।