काठमाण्डौं, ३ भदौ । काठमाण्डौंको माइतीघर मण्डलामा भईरहेको थरूहट आन्दोलनमा नागरिक अगुवाहरुले पनि साथ दिएका छन् ।
कैलालीको टीकापुरमा थरुहट, थारुवान आन्दोलन भएको ६ वर्ष पुगेको अवसरमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा बुधबार, बिहीबार र शुक्रबार तीन दिन काठमाडौंको माइतीघरमा प्रदर्शन भइरहेको कार्यक्रम नागरिक अगुवाहरुले पनि सहभागिता जनाएका छन् । प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायतका नागरिक अगुवा सहभागी रहेका छन् । प्रदर्शनमा सांसद रेशम चौधरीको छोरा पनि प्लेकार्डसहित सहभागी भएका छन् ।
प्रदर्शन र धर्नामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइ गर्न माग गरेका छन् ।
संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । घटना भएको दोस्रो दिन बिहान कफ्र्यु जारी भएको समयमा ८० भन्दा बढी थारु समुदायका घर, पसल, एफएम लगायतमा आजजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरीसहित नेता कार्यकर्ता जेल सजाय भोगिरहेका छन् ।