७ फाल्गुन २०८१, बुधबार February 19, 2025

कोभिड–१९ विरुद्धको खोप कभरेज बढाउन अन्तरक्रिया

२६ श्रावण २०७९, बिहीबार
कोभिड–१९ विरुद्धको खोप कभरेज बढाउन अन्तरक्रिया

धनगढी । कोभिड–१९ विरुद्धको खोप कभरेज बढाउन धनगढीमा सरोकारवाला बिच अन्तरक्रिया भएको छ ।
अन्तरक्रियामा सहभागीहरुले खोप कभरेजलाई प्रभावकारी बनाउन आवश्यक प्रचारप्रसार तथा विद्यालय र जनप्रतिनीधी केन्द्रित भएर खोप अभियान चलाउनु पर्ने बताएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख देवीदत्त कलेलले कोभिड खोपबारे अझै पनि गाउँघरमा गलत बुझाई रहेकाले कोभिड खोपबारे प्रचारप्रसार र खोप अभियान सञ्चालन गर्नु पर्ने आवश्यक रहेको बताएका थिए । उनले खोपबारे गलत बुझाइकै कारण अझै पनि गाउँघरका व्यक्तिले खोप नलिएको बताए ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कोभिड रोकथाम तथा नियन्त्रण गर्न व्यक्तिलै आफै सचेत हुन आवश्य रहेको बताए । उनले स्वास्थ्यका मापदण्ड नअपनाउँदा कोभिड संक्रमण बढने बताए । साथै उनले कोभिड खोपले कोभिड नियन्त्रण भएकोले जिल्लामा खोप पाउन छुटेका सबै व्यक्तिले खोप लिदिन आग्रह गरे ।
सुहाराका लोकेन्द्र बहादुर थापाले खोप कभरेज प्रभावकारी बनाउन विद्यालय तथा जनप्रतिनिधी मार्फत खोप अभियान चलाउन सुझाव दिएका थिए ।
कैलाली विद्या निकेतनका प्रधानाध्यापक तपेन्द्र शाहले विद्यालयमा खोप केन्द्र सञ्चालन तथा विद्यार्थी मार्फत खोप अभियान गर्दा प्रभावकारी हुने बताए ।
यता कार्यक्रमका प्रमुख अतिथी तथा सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले कोभिड रोकथाम तथा नियन्त्रण गर्न प्रदेश सकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले कोभिड रोकथाम तथा नियन्त्रणका सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरिदिन आग्रह गरे । साथै उनले स्वास्थ्य कार्यालयले लिएको कोभिड–१९ विरुद्धको खोप अभियानलाई सफल पार्न पनि सबैले सहयोग गरिदिन आग्रह गरे ।
स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लाल बहादुर धामीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा फाया नेपाल र वेशको सहकार्यमा कार्यक्रम भएको हो ।