कैलाली, २० साउन । कैलालीमा पाइने चरा र चराहरुको अवलोकन नामक पुस्तक विमोचन गरिएको छ ।
प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश विकास कार्यक्रम कार्यन्वयन इकाई र नेपाल पन्छी संरक्षण संघ नेपालको सहकार्यमा प्रकाशित पुस्तक विमोचन गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश स्तरीय २ दिने समिक्षा गोष्ठीमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानसिंह धामीले पुस्तक विमोचन गरेका थिए ।
नेपाल पन्छी संरक्षण संघका सुदूरपश्चिम प्रदेश संयोजक हिरुलाल डंगौरा र बृहत घोडाघोडी पर्यटन विकास बोर्डका उपाध्यक्ष, चरा विशेषज्ञ, चरा संरक्षण नेटर्वकका अध्यक्ष दयाराम चौधरीद्वारा लिखित पुस्तक हो । कैलालीका चरा नामक पुस्तक कैलालीको पहिलो पुस्तक रहेको जनाइएको छ ।
पुस्तकमा नेपालमा पाइने ८८६ प्रजातिका चराहरु मध्ये कैलालीमा ४९६ प्रजातिका चराहरु बारे जानकारी दिइएको छ । त्यस्तै नेपालमा पाइने ४३ विश्वका दुर्लभ चराहरु मध्ये २१ प्रजातिका चरा कैलालीमा पाइने उल्लेख गरिएको छ । कैलालीमा पाइने चराहरु बुडीफोरलुच, राजलहासे राजधानेश, डंगरगिद्द, सानोखैरेगिद्द, गोबरेगिद्द लगायतका चराहरु समाबेश गरिएको छ ।
त्यस्तै राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा रहेका ८१ प्रजातिका चराहरु पनि समाबेश गरिएका छन् । कैलालीमापाईने चराहरुको अवस्था,चरा मा पर्ने खतरा र संरक्षणका चुनौतीहरु समेत समावेश गरिएको छ । यस पुस्तकले चरा संरक्षण,अनुसन्धान र चरा अवलोकन पर्यटनलाई सहयोग पुर्याउने नेपाल पन्छी संरक्षण संघका सुदूरपश्चिम प्रदेश संयोजक डंगौराले बताए ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव यज्ञनाथ दाहालको सभापतित्वमा भएको समीक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका डिभिजन वन कार्यालयका प्रमुखहरु संरक्षणको क्षेत्रमा काम गर्ने निकाय एवं तराई भुपरिधी तालका प्रतिनिधि र नेपाल पन्छी संरक्षण संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।