२७ आश्विन २०८१, आईतवार October 13, 2024

तेस्रो चरणको थरुहट आन्दोलन सुरु

१ भाद्र २०७८, मंगलवार
तेस्रो चरणको थरुहट आन्दोलन सुरु

काठमाण्डौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको आन्दोलन माइतीघर मण्डलबाट सुरु गरेको छ । मंगलबार नागरिक समाजका अभियन्तासहितको सहभागितामा मोर्चाले धर्नामार्फत् आन्दोलन सुरु गरेको हो ।
‘न्याय खोज्दै हामी आज सिंहदरबारअघि आइपुगेका छौँ । किनकि टीकापुर विद्रोह कुनै जाति विशेषको विद्रोह होइन । राज्यले जुन बिल्ला लगाएको छ, त्यसको विरुद्ध हामी निरन्तर आन्दोलनमा छौँ,’ मोर्चाका महासचिव तुलसी थारुले भने ।
लामो समयदेखि राज्यबाट दलनमा परेको थारु समुदाय हक अधिकारको लागि संगठित हुँदै आन्दोलित बनेको थियो । तर, २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसामा ८ जनाको ज्यान गएको छ । सोही घटनापछि थारू आन्दोलन कमजोर बन्यो ।
तर, टीकापुर त्यसको ६ वर्षपछि आन्दोलनलाई सशक्त ढंगले अगाडि बढाउन आफूहरू एकजुट भएको महासचिव तुलसी थारुले बताए ।
‘टीकापुरको घटना न आयोजकहरूको तर्फबाट प्रायोजित घटना थियो, न जनप्रदर्शन र सभामा सामेल जनसमुदायको उद्देश्यअनुरुप नै थियो । त्यो केही तत्वहरूले अवान्छित तवरले आन्दोलनलाई बदनाम गर्न, राजनीतिक मुद्दालाई आपराधिक करार गर्न गरेको षड्यन्त्र मात्र थियो,’ थरुहट थारुवान राष्ट्रिय मोर्चाले अपिलमा भनेको छ ।
त्यही घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित अन्य अभियन्ता अहिले पनि जेलमा छन् । लाल आयोगको प्रतिवेदन सार्वजनिक, टीकापुरको झुटा मुद्दा खारेज, टीकापुरका घर जलाइएका परिवारलाई क्षतिपूर्ति, रेशम चौधरीसहित अन्य बन्दीको रिहाइ, अधुरो संविधान संशोधलगायतका मागसहित उनीहरुले धर्ना दिएका थिए ।

दोस्रो चरणको आन्दोलनका क्रममा अघिल्लो चैतसम्म विभिन्न जिल्लामा मोर्चाले सभा गरेको थियो ।


नागरिक समाजको साथ
थरुहट आन्दोलनमा नागरिक समाजका अभियन्ताहरूको पनि सहभागिता देखिएको थियो । आजको कार्यक्रममा सडकमा नारायण वाग्ले, युग पाठक, मोहना अन्सारी, रीता परियार, श्रवण मुकारुङ लगायतको उपस्थिति थियो । आन्दोलमा नेवाहरूको झाँकी समेत थियो ।
‘थारुहरू पीडामा परेका कारण सम्पूर्ण संघसंस्थाहरूले हाम्रो आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । अब यो आन्दोलनमा हामी सबै जात र समुदायका छौं,’ महासचिव थारुले भने ।
अभियन्ता सीएन थारु राज्यले पटक–पटक थारुहरूको मुद्दालाई दबाउन खोजेको र षड्यन्त्रपूर्वक आन्दोलनलाई कमजोर पार्न कोसिस गरेको बताउँछन् । लाल आयोग प्रतिवेदन शेरबहादुर देउवा नै प्रधानमन्त्री हुँदा सरकारलाई मोर्चाले बुझाएको थियो ।
‘उनले त्यो बेलामा पनि सार्वजनिक गरेनन् । त्यहाँ जे जे प्रमाण त्यसलाई सार्वजनिक गरेर अदालतले पनि त्यसलाई प्रमाण्को रुपमा लिएर निर्णय प्रक्रिया अगाडि बढाएको भए हुन्थ्यो । तर अदालतले एकतर्फी निर्णय गरेको छ,’ उनी भन्छन्, ‘अब त्यो प्रतिदेवन सार्वजनिकसहित अन्य हाम्रा मागहरू पुरा गर्न आन्दोलन गरेका हौँ ।’
मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी टीकापुर घटनाको ६ वर्षको दौरानमा घटना घट्नुअघि र घटिसकेपछिका धेरै थारुहरू पीडित रहेको बताउँछिन् ।
‘थारु समुदायमाथि भएको दमन, अन्यायबारे यथार्थ बाहिर ल्याउन न्यायिक समिति बनेको थियो । तर त्यो समितिको प्रतिवेदन सार्वजनिक भएको छैन । त्यो प्रतिवेदनले उठाएका विषय सम्बोधन हुनुपर्यो । नेपालका राजनीतिक परिवर्तनमा ठूलो भूमिका थारुले निभाए । तर थारु पिछडिएका छन् । त्यसकै लागि पनि हामी सडकमा आएका हौं,’ अन्सारी भन्छिन् ।
आन्दोलनमा देखिएका कवि श्रवण मुकारुङ पटकपटक राजनीतिक परिवर्तन हुँदा पनि थारुहरूको मुद्दालाई भने बेवास्ता गरिएको बताउँछन् । सीमान्त बनाइएको समुदायको न्यायका निम्ति नागरिक समाज र लेखक पनि आन्दोलनमा सडकमा आउने उनले बताए ।
‘साझा समस्यामाथि लेखक अगाडि उभिन्छ नै । एउटा लेखकले नेतृत्व पनि गर्छ । सबैखाले अन्यायको विरुद्ध लेखक सधैं अग्रपंक्तिमा हुने हुँदा लेखकको लागि यो महत्वपूर्ण कुरा हो,’ उनले भने ।
उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिका संयोजक सुमन सायमीले टीकापुरमा भएको अन्यायमा आफूहरूको पनि साथ रहेको बताए ।
‘उनीहरूलाई झुटो मुद्दा लगाएर जसरी षड्यन्त्र गरिएको छ, त्यसविरुद्ध सडकमा ओर्लिएका हौं,’ उनले भने ।’
नेपाल खबरबाट