धनगढी, ३२ असार । अभिनेता अम्बिका प्रसाद आचार्य र संगत थारुलाई प्रज्ञा प्रादेशिक प्रतिभा श्रष्टा सम्मान एवं पुरस्कार प्रदान गरिएको छ ।
तीन दशकदेखि निरन्तर रूपमा कला तथा संस्कृति क्षेत्रमा सक्रिय रहेका अभिनेता आचार्य र अढाई दशकदेखि कला क्षेत्रमा क्रियाशिल अभिनेता थारुलाई प्रज्ञा प्रादेशिक प्रतिभा श्रष्टा सम्मान–२०८१ द्वारा सम्मान एवं पुरस्कृत गरिएको हो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले अभिनेताद्वयलाई २१२ औं आदिकवि भानु जयन्तीको अवसर पारेर सम्मान प्रदान गरेका हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले उनीहरुलाई अभिनन्दन पत्रसहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
धनगढी उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका आचार्य विगत तीन दशकभन्दा बढी समयदेखि नाट्यकला तथा चलचित्र क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका छन् । कला, साहित्य र संस्कृतिको अभिवृद्धिमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रतिष्ठानले यस वर्षको प्रादेशिक प्रतिभा सम्मान उनलाई प्रदान गरेको जनाएको छ ।
यसैगरि अढाई दशकदेखि कला क्षेत्रमा क्रियाशील अभिनेता थारुलाई पनि प्रज्ञा प्रादेशिक पुरस्कार प्रदान गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका थारु अढाइ दशकदेखि कला क्षेत्रमा क्रियाशील रहेका छन् । उनी थारु भाषाको चलचित्रदेखि लिएर विभिन्न म्युजिक भिडियोमा आफ्नो भूमिका निर्वाह गरेका छन् ।
अनवरत रुपमा कलाकारिता क्षेत्रमा क्रियाशील रहेको भन्दै प्रतिष्ठानले नाट्य तथा चलचित्र विधातर्फ थारुलाई प्रज्ञा प्रादेशिक पुरस्कारले पुरस्कृत गरेको हो ।