२४ कार्तिक २०८१, शनिबार November 9, 2024

सुदूर पश्चिमको बजेट पास, पक्षमा ३९ र बिपक्षमा एक मत

३१ असार २०८०, आईतवार
सुदूर पश्चिमको बजेट पास, पक्षमा ३९ र बिपक्षमा एक मत

धनगढी । सुदूर पश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लागि ल्याएको बजेट दुई तिहाई बहुमतले आज पास भएको छ ।
आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले बजेट पासका लागि गरेको प्रस्तावका पक्षमा सत्ता साझेदार चार दलका ३९ जना प्रदेश सभा सदस्यले बजेटको पक्षमा मतदान गरे । बिपक्षमा राप्रपाका एक जना प्रदेश सभा सदस्यले मतदान गरे । १० जना प्रदेश सभा सदस्य रहेको नेकपा एमाले र स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी भने अनुपस्थित रहे ।
बजेटको पक्षमा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्यले मत दान गरे ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूर पश्चिममा प्रदेश सभामा बझाङबाट निर्बाचित पृथ्वी बहादुर सिंहको निधन भएपछि ५२ जना सदस्य छन् । बजेट पास गर्न २७ जना सदस्यको समर्थनको आवश्यकता पथ्र्यो । बजेटको पक्षमा भने सत्तारुढ दलका ३९ जना सदस्यले मतदान गरे ।

लामो रस्साकस्सी र बिरोधपछि अन्ततः सत्तारुढ दलहरुको समर्थन जुटाउन सरकार सफल भयो । सत्तारुढ दलहरुको बैठक दिनभरी जारी रहेका कारण राति १० बजे बजेट पास भएको हो ।