७ फाल्गुन २०८१, बुधबार February 19, 2025

प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदै

२४ असार २०८०, आईतवार
प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुँदै

धनगढी, २४ असार । सङ्घीय सरकारको सत्तारूढ गठबन्धन दल नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । गठबन्धनबिच केन्द्रमा भएको सहमति अनुसार सो पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको हो ।
सो पार्टीलाई सरकारमा सहभागी गराउन प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक पार्टीका संरक्षक रेशम चौधरीबिच छलफल भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
छलफलमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, नागरिक पार्टीका प्रवक्ता दामोदर पण्डितको पनि उपस्थिति रहेको थियो । नागरिक पार्टी प्रदेश सरकारमा जाने निश्चित भएको सो पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले बताए ।
“सम्भवतः दुई÷तीन दिनभित्रै सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुन्छ उनले भने, हाम्रो पार्टीबाट कोही साथीले मन्त्रीमा शपथ लिनु हुनेछ ।” उनका अनुसार नागरिक पार्टीले सङ्घमा भएको सहमति अनुसार दुई मन्त्रीसहित राज्यमन्त्री, दुई समितिका सभापति पाउनु पर्ने माग राखेको छ ।
“हाम्रो माग यही हो,” उनले भने, “अब यसमा कसरी मिलाउने हो, त्यो प्रदेश सरकारले जानोस् । सरकारले जति चाँडै सहमति जुटाउँछ उतिनै छिटो सरकार विस्तार र शपथग्रहण हुन सक्छ ।”
यसअघि मुख्यमन्त्री शाहले नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धन सरकारमा सहभागी गराउन नागरिक पार्टीसँग छलफलको प्रयास गरेका थिए । सो पार्टीले दुई वटा मन्त्रालय माग गरेको थियो तर भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मात्रै पाउने सम्भावना देखिएपछि सरकारमा नगएको बताइन्छ ।

उक्त मन्त्रालय अझै पनि मन्त्रीविहीन रहेको छ । अब भने नागरिक पार्टी सरकारमा जाने कुरा पार्टीका संरक्षक चौधरीले पनि सार्वजनिक गरेका छन् । उनले एक साताभित्रै सुदूरपश्चिम प्रदेश सरकारमा जाने कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।
प्रदेश सभामा चौथो ठुलो दल नागरिक पार्टीबाट लक्ष्मणकिशोर चौधरी र रामेश्वर चौधरी मन्त्री बन्ने लाइनमा रहेका छन् । दुवै जनालाई मन्त्री बनाउने पार्टीको निर्णय रहेको छ ।
प्रदेशमा अहिले नेपाली कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सम्मिलित संयुक्त सरकार छ । यस्तै गाडी दुर्घटनामा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि कानुन मन्त्रालय पनि मन्त्रीविहीन बनेको छ ।
गोरखापत्रबाट