३२ असार २०८१, सोमबार July 15, 2024

मोहना नदीको कटानले शिवरत्नपुरवासीमा चिन्ता

१९ असार २०८०, मंगलवार
मोहना नदीको कटानले शिवरत्नपुरवासीमा चिन्ता

धनगढी, १९ असार । मोहना नदीले फेरि कटान गर्न थालेपछि कैलालीको शिवरत्नपुरवासी चिन्तित भएका छन् । सो नदीमा आएको बाढीले गत वर्ष दिएको पीडा भुल्न नपाउँदै यस वर्ष फेरि कटान सुरु गरेपछि स्थानीयवासी चिन्तित भएका हुन् ।

कैलारी गाउँपालिका–३ स्थित मोहना नदीपारि नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको सो गाउँलाई गत वर्ष बाढीले तहस नहस पारेको थियो । नदीमा आएको बाढी बस्ती पसेपछि १६ घर परिवारको उठीवास भएको छ । उनीहरू जङ्गल क्षेत्रमा बस्दै आएका छन् ।

गत वर्ष अत्यधिक जग्गा जमिन नदीले कटान गरेको पीडा बिर्सन नसकिरहेको बेला यस वर्ष फेरि कटान हुँदा पीडामाथि पीडा थपिएको मानबहादुर चौधरीले बताए । “यो वर्ष तीन पटक मात्रै सानो बाढी आएको छ,” उनले अगाडि थपे, “तर सानो बाढीले पनि धमाधम जमिन कटान गरिरहेको छ ।”

ठुलो बाढी आएपछि त झनै के हुने हो ? क्षतिको कल्पनै गर्न सकिन्न । स्थानीय अगुवा चौधरीका अनुसार एक साता आएको बाढीले गाउँतर्फको करिब तीन मिटरसम्म जमिन कटान गरिसकेको छ । एक किलोमिटर दुरीमा कटान हुने सम्भावना बढेको छ ।

गत वर्ष यस नदीले किसानको खेत, सामुदायिक वन क्षेत्र गरेर २०/२१ बिघा जमिन कटान गरेको थियो । नदीले वारि कटान गरेको खेत पारितिर बालुवा बगरमा परिणत भएको छ । यसै गरी निर्माणाधीन झोलुङ्गे पुलको पिल्लरसमेत नदीले बगाएको छ । पुलको पिल्लर बगेपछि त्यहाँ झोलुङ्गे पुल निर्माण कार्य पनि अनिश्चित बनेको छ । स्थानीयवासीसहित विद्यार्थी डुङ्गामा ओहोरदोहोर गर्न बाध्य छन् । नदीले धेरै दुःख दिएको भन्दै स्थानीयले उक्त समस्या समाधान र बस्ती जोगाउन ‘स्लोपिङ ड्याम’ बनाउन माग गरेका छन् ।

कटान समस्या समाधानका लागि गत वर्ष सो ठाउँमा तटबन्ध गरिएको थियो तर सुरक्षाका लागि बनाइएको तटबन्ध टिकाउ हुन सकेन । तटबन्ध बनेको तीन दिनमै बाढीले बगाएको थियो । कैलारी गाउँपालिकाका विपत् व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले ठुलो लगानी गरेर मात्रै समस्या समाधान गर्न सकिने बताए ।
जोखिम मोलेर डुङ्गाबाट वारपा
कटान समस्या झेलिरहेका शिवरत्नपुरवासीले जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नु पर्ने बाध्यता रहेको छ । नदीमा बाढी आएमा डुङ्गासमेत बन्द भई ओहोरदोहोर नै बन्द हुने गरेको छ । आइतबार बाढी आउँदा छ घण्टा नदी किनारमा पर्खेर गन्तव्यतर्फ आएको हसुलियाका स्थानीय कुलराज चौधरीले बताए । “कामले त्यहाँ गएको थिएँ,” उनले भने,“बाढी आएपछि डुङ्गा नै चलेन । छ घण्टा रोकिएँ ।”

त्यस दिन हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा परीक्षा दिन गएका आफ्नो गाउँका विद्यार्थीको परीक्षा पनि छुटेको उनले बताए । “डुङ्गा नचलेपछि उनीहरू विद्यालय जान सकेनन्,” उनले भने, “अघिल्लो दिन छुटेको परीक्षा विद्यार्थीले दोस्रो दिन मात्रै दिए ।”
गोरखापत्रबाट