८ बैशाख २०८१, शनिबार April 20, 2024

विशेषज्ञ वडा क्लिनिकका लागि गाडी हस्तान्तरण

२२ असार २०७९, बुधबार
विशेषज्ञ वडा क्लिनिकका लागि गाडी हस्तान्तरण

कैलाली । धनगढी उपमहानगरपालिकाले नगरप्रमुखले चढ्ने गाडी विशेषज्ञ वडा क्लिनिकलाई हस्तान्तरण गरेको छ ।
नगर प्रमुख गोपाल हमालले आफू नीजी गाडी प्रयोग गर्ने भन्दै सरकारी गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको हो । वडा क्लिनिक सञ्चालन गर्न उपमहानगरका प्रमुखले चढ्ने गाडी बुधबार एक समारोहका बीच श्री १००८ स्वामी देवराज आचार्यले स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर बोहरालाई हस्तान्तरण गरेका हुन् ।
नगर प्रमुखको रुपमा कुनै पनि सुविधा व्यक्तिगत उपभोग नगर्ने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धता अनुसार १९ वटै वडामा हरेक महिना विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चाचलन गर्ने बताएका थिए । उपमहानगरपालिकाले विशेषज्ञ वडा क्लिनिकमा सामान्य स्वास्थ्य परीक्षणसँगै ल्याव सेवा, अल्ट्रासाउण्ड र इसिजी सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
धनगढी उपमहानगरपालिकालाई विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न आवश्यक पर्ने दुई जना विशेषज्ञ डाक्टरको तलव र भत्ता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यहोर्ने सम्झौता यस अघि नै भैसकेको छ । उपमहानगरपालिकालाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न आवश्यक उपकरण सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । साउन १ गतेदेखि धनगढीका सबै वडामा तालिका अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने नगर प्रमुख गोपाल हमालले बताए ।
‘हामीले सबै वडामा एक जना कन्सल्टेन्ट फिजिसियन र एक जना स्त्री रोग विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरेका छौँ, ’ उनले भने, ‘क्लिनिक चलाउन डाक्टरको विज्ञापन गरेका छौँ भने थप जनशक्ति हामीसँगै भएको परिचालन हुनेछन् । नागरिकको घरमै स्वास्थ्य सेवा पु¥याउन वडा स्वास्थ्य क्लिनिक सञ्चालन गरेका हौँ ।’ हमालले ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ भन्ने अभियान अन्तर्गत वडा क्लिनिकमा उपचारसँगै सबै किसिमका औंषधि पनि निःशुल्क प्रदान गर्ने योजना रहेको बताए ।