३२ असार २०८१, सोमबार July 15, 2024

उपप्रमुख कन्दकला रानाद्वारा १ अर्ब ९३ करोड बजेट प्रस्तुत

१० असार २०८०, आईतवार
उपप्रमुख कन्दकला रानाद्वारा १ अर्ब ९३ करोड बजेट प्रस्तुत

धनगढी, १० असार । कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि १ अर्ब ९३ करोड आठ लाख २४ हजार रुपियाँ बजेट ल्याएको छ ।
उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले १० औँ नगर सभामा आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गरेका हुन् । उपमहानगरपालिकाले चालुतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । यसैगरी, पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।
उपमहानगरपालिकाको आयमा आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार, राजस्व बाँडफाँटतर्फ ४६ करोड ९७ लाख ९४ हजार रुपियाँ रहेको छ । यसैगरी, सङ्घीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर वित्तीय हस्तान्तरणतर्फ पाँच करोड ३२ लाख १२ हजार रुपियाँ रहेको छ । दायित्व सरिआएको १२ करोड ५० लाख रुपियाँ पनि आयको रूपमा रहेको उपप्रमुख रानाले बताइन् ।
उपमहानगरपालिकाले क्षेत्रगत कार्यक्रम अन्तर्गत आर्थिक विकासतर्फ नौ करोड ६५ लाख ९३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । यसैगरी, सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख पाँच हजार, पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख ७४ हजार, सुशासनतर्फ पाँच करोड ६५ लाख ५५ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ । यस्तै, कार्यालय सञ्चालनतर्फ ५५ करोड ५६ लाख ९५ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।