धनगढी। धनगढी उपमहानगरपालिकाले घर निर्माण गर्दा सोकपिट अनिवार्य बनाउनुपर्ने नियम लागु गर्ने भएको छ । घर निर्माणको प्रमाणपत्र लिनुपूर्व छतबाट र घरको भान्सा र बाथरुमबाट आउने पानीका लागि सोकपिट बनाउनुर्ने अनिवार्य गर्न लागिएको छ । पानी रिचार्जको समस्या नआओस् भनेर हरेक घरमा पानी सोस्ने खाल्डो निर्माण गरेको हुनुपर्ने नियम बनाउन लागिएको उपमहानगरले जनाएको छ ।
घरको नक्सा पास गर्दा नै सोकपिट सहितको नक्सा बनाउनुपर्ने र घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिनुपूर्व पानी सोस्ने खाल्डो बनाएको छरछैन भनेर हेरिने बताइएको छ । पानी सोस्ने खाल्डो हरेक घरमा बनाए भविष्यमा जमिनमुनिको पानी सकिएर नलमा पानी नआउने समस्या नहुने बताइएको छ । त्यस्तै उपमहानगरपालिकाले बिजुलीको लाइन विस्तार र ग्राभेल नगरिएको स्थानमा कित्ताकाट र योजना नहाल्ने नीति लिएको छ । जग्गा प्लटिङ गर्दा जग्गा कारोबारीले नै बिजुलीको लाइन विस्तार र १५ सेन्टिमिटर ग्राभेल गरेपछि मात्रै कित्ताकाटका लागि सिफारिस गर्ने नीति उपमहानगरले लिएको छ ।
धनगढीमा जग्गा खरिद गर्दा बिजुलीको लाइन विस्तार, कच्ची नाली निर्माण र ग्राभेल भएरनभएको हेरेर मात्रै जग्गाको कारोबार गर्न उपमहानगरले सर्वसाधारणलाई आग्रह गरेको छ । नाफा जति जग्गा कारोबारीले खाने तथा ग्राभेलदेखि बिजुलीको लाइन विस्तारको बोझ स्थानीय सरकरलाई बोकाउन थालिएपछि जग्गा कारोबारीलाई जिम्मेवार बनाउन उपमहानगरले बिजुलीको चार्जिङ गरिएको लाइन विस्तार भएको र तोकिएको परिमाणको ग्राभेल हालेको प्रमाणित भएपछि मात्रै कित्ताकाटका लागि सिफारिस गर्ने भएको हो ।
यस्तै, ग्राभेल र विजुलीको लाइन विस्तार नभएको क्षेत्रमा घरक्क नक्सा पास नगर्ने नीति उपमहानगरले लिएको छ । नक्सा पास गर्न त्यो क्षेत्रको सडक र वस्तीमा विजुली र सडकमा न्यूनतम पूर्वाधार जग्गा व्यापारीले विकास गरेको हुनुपर्ने उपमहानगरले जनाएको छ ।