३२ असार २०८१, सोमबार July 15, 2024

थारु म्युजिक भिडियो ‘निन्द नइ लग्ना’ सार्वजनिक

१९ जेष्ठ २०८०, शुक्रबार
थारु म्युजिक भिडियो ‘निन्द नइ लग्ना’ सार्वजनिक

कैलाली । सुलभ फिल्मस् प्रालिले नयाँ थारु म्युजिक भिडियो ल्याएको छ ।
‘निन्द नइ लग्ना’ भन्ने बोलको गीतको म्युजिक भिडियोमा मोडल जगत गुरु र सामु चौधरीको मुख्य भूमिका रहेको छ । शब्द संगीत उमेश मुस्कानको रहेको गीतमा चर्चित गायिका अन्नु चौधरी र उमेश मुस्कानको स्वर दिएका छन् । म्युजिक भिडियोको डाइरेक्सन आर्दश महतोको रहेको छ । त्यसैगरि क्यामेरा र एडिट दया चौधरीको रहेको छ ।
यसैबिच प्रालिले धनगढीमा भिडियो रिलिज सेरेमनीको आयोजना गरेका थियो । प्रालीका प्रवन्ध निर्देशक दया चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिमका अध्यक्ष संगत थारु रहेका थिए । थारु मेगा स्टार समेत रहेका थारुले नयाँ नयाँ थारु म्युजिक भिडियो आउनु भनेको थारु समुदायको लागि एकदमै राम्रो रहेको बताए । उनले थारु म्युजिक भिडियोले थारु कला संस्कृति संरक्षणमा समेत टेवा पुग्ने बताए ।


एक अर्को प्रसङ्गमा उनले थारु गायक तथा संगीतकारहरुबाट म्युजिक भिडियोमा लगानी गर्ने लगानीकर्ता पीडित रहेको औँल्याए । उनले गायक तथा संगीतकारहरुले अडियोको व्यापार समेत गरेको आरोप लगाए ।
उनले भने‘–हामी म्युजिक भिडियो निर्माताहरुले गायक तथा संगीतकारहरुबाट लाखौँ लगाएर गीत(अडियो) किन्छौ, अझै त्यसमा लाखौँ लगानी गरेर म्युजिक भिडियो निर्माण गर्छौ । तर गायक तथा संगीतकारहरुले त्यही गीतलाई डिजिटल प्लेटफर्ममा आफ्नो नाममा दर्ता गर्छन् । जसले गर्दा हाम्रो निर्माण गरेको भिडियोमा कपीराइट आउनुका साथै हामी लगानी कर्ताहरुको लगानी नै डुब्ने गर्छ ।’
कार्यक्रममा सुप कला प्रतिष्ठानका महासचिव गुणाकर पनेरु, वरिष्ठ द्वन्द निर्देशक उदयसिंह बोहरा, निर्देशक राजकुमार श्रेष्ठ, सुपक थारु सलिमा पहुराका गोविन्द मुखिया, कलाकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सञ्चालन थारु लोक गायक राजु राज चौधरीले गरेका थिए ।