७ बैशाख २०८१, शुक्रबार April 19, 2024

लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै

११ असार २०७९, शनिबार
लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दै

काठमाण्डौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु आइतबार रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दैछन् । टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारुलाई पनि रेशम चौधरीलाई झैँ उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ । उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् । टीकापुर घटना राजनीतिक भएकाले आफूहरूले सफाइ पाउनुपर्ने रिट रेशम, लक्ष्मण थारु लगायतले सर्वोच्च अदालतमा पेश गरेका छन् ।
माओवादीले दाङदेखि कञ्चनपुरसम्म थारुवान प्रदेश घोषणा गरेको थियो । तर लेखराज भट्टले कैलाली, कञ्चनपुरलाई सेती महाकाली प्रदेशमा गाभ्नुपर्नेमा जोड दिएपछि त्यसमा असहमति जनाउँदै माओवादीको कैलाली जिल्ला इन्चार्ज रहेका लक्ष्मण थारुले २०६५ सालको सुरुमै पार्टी परित्याग गरेका थिए ।
त्यसपछि छुट्टै मोर्चा बनाएका लक्ष्मण थारुले पछि थरुहट तराई पार्टी नेपाल पार्टी गठन गरी अध्यक्ष भएका थिए । थरुहट तराई पार्टी नेपालको चुनाव चिन्ह त्यसबेला ढकिया थियो । रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह पनि अहिले ढकिया रहेको छ । गएको स्थानीय चुनावमा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारलाई भोट मागे पनि लक्ष्मण थारु पार्टी प्रवेश भने गरेका थिएनन् ।
नागरिक उन्मुक्ति पार्टीमा लक्ष्मण थारुको प्रवेशसँगै थरुहट थारुवान राष्ट्रिय मोर्चामा आबद्ध उनका सहकर्मीहरू आउने लर्को लाग्ने आङ्कलन गरिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका कार्यवाहक अध्यक्ष श्रवण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेशका लागि नेपाल लोकतान्त्रिक पार्टीको महामन्त्रीबाट राजीनामा दिइसकेका छन् ।
थरुहट थारुवान राष्ट्रिय मोर्चा लुज फोरम थियो । लक्ष्मण थारु बाहेक यसमा संग्लग्नहरु विभिन्न दलमा आबद्ध थिए । यसको प्रवक्ता रहेका मीनराज चौधरीले काँग्रेसबाट बर्दियाको गेरुवा गाउँपालिकाको अध्यक्षमा दाबी गरे पनि टिकट पाएनन् । मोर्चाको युवा संगठनको अध्यक्ष रहेका सिताराम चौधरीले बर्दिया राजापुरको वडाध्यक्षमा काँग्रेसबाट दाबी गरे पनि टिकट पाएनन् । स्थानीय चुनावमा आफ्नो वडामा काँग्रेसलाई विजयी गराए पनि सिताराम चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ । त्यस्तै, काँग्रेस केन्द्रीय सदस्य डा गोपाल दहितलाई पनि पार्टीले स्पष्टीकरण सोधेको छ । दहित थरुहट तराई पार्टी नेपालबाट समानुपातिक सांसद भएका थिए । पार्टीले हायलकायल पारेमा थरुहट तराई पार्टी तथा फोरम लोकतान्त्रिकबाट काँग्रेस प्रवेश गरेको ठूलो समूह नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न सक्ने बताइएको छ ।
विभिन्न समूह, दलमा आबद्ध थारु नेताहरूलाई नागरिक उन्मुक्ति पार्टीमा प्रवेशका लागि सहजीकरण गरिरहेका सुरेन्द्र चौधरीका अनुसार आइतबार भृकुटी मण्डपस्थित रिपोर्टस् क्लबमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टीमा प्रवेशको कार्यक्रम राखिएको छ । अर्धभूमिगत जीवन बिताइरहेकाले लक्ष्मण थारु आउने न आउने टुङ्गो भने छैन । आइतबार नागरिक उन्मुक्ति पार्टीमा प्रवेशका लागि करिब ४ दर्जन व्यक्तिको नाम तयार भए पनि मौसमका कारण सबै उपस्थित हुन कठिनाइ रहेको चौधरीले बताए ।