कैलाली । नेपाली कांग्रेस महासमिति सदस्य अरुण चौधरीलगायतका नेताहरू नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।
सदस्य अरुण, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप चौधरी लगायतका नेताहरू उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा फोरम लोकतान्त्रिकबाट प्रदीप चौधरी गाउँपालिका अध्यक्षमा निर्वाचित लम्की चुहाको मेयरमा अरुण चौधरी झिनो मतले पराजित भएका थिए ।
कांग्रेससँगको एकतापछि उनी प्रदेश सभा सदस्यमा पनि झिनो मतले पराजित भएका थिए । १४ औँ जिल्ला अधिवेशनमा उनी महासमिति सदस्यमा निर्वाचित भएका थिए । उनी सर्वाधिक मत ल्याउनेमा दोस्रो स्थानमा थिए ।
यसैगरी नेकपा (एमाले) का केन्द्रीय निर्वाचन आयोगका पूर्व सदस्य केवालाल चौधरी र नेता लालबीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । केवालाल नेकपा (एमाले) बाट निर्वाचित भई साविक प्रतापपुर गाविसको अध्यक्ष निर्वाचित भएका थिए । रेशमलाल चौधरीका बुबा लालबीर चौधरी २०७४ सालको निर्वाचननमा कैलाली क्षेत्र नम्बर १ (क) बाट नेकपा (एमाले) का तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए । नवप्रवेशीलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गरेकी थिइन् ।