११ जेष्ठ २०८३, सोमबार May 25, 2026

भादामा प्रदेशस्तरीय होमस्टे मेला महोत्सव हुने

११ जेष्ठ २०८३, सोमबार
भादामा प्रदेशस्तरीय होमस्टे मेला महोत्सव हुने

धनगढी, ११ जेठ । सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव यस वर्ष पनि हुने भएको छ ।
सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा, खानपान र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दोस्रो सुदूरपश्चिम प्रदेशस्तरीय होमस्टे मेला महोत्सव २०८३ यही जेठ १९ गतेदेखि धनगढी–१६ भादामा आयोजना हुने भएको हो । “प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान” भन्ने मूल नारासहित तीन दिनसम्म सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा हुने महोत्सव जेठ २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव दीपेन्द्र चारपाते माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिनेछ । कार्यक्रमलाई सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रवद्र्धन गरेको छ भने होमस्टे (घरबास) महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले समन्वय तथा सहकार्य गरिरहेको भादा होमस्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए।
आयोजकका अनुसार महोत्सवले सुदूरपश्चिमका हिमाल, पहाड र तराईका विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति, रहनसहन, भेषभूषा र खानपानलाई एउटै थलोमा प्रस्तुत गर्नेछ। पछिल्लो समय लोप हुँदै गइरहेका परम्परा र संस्कृतिको संरक्षणसँगै होमस्टे पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।
महोत्सवमा प्रत्येक दिन विभिन्न समुदायका सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिनेछन्। स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको सांगीतिक प्रस्तुति रहनेछ भने सुदूरपश्चिमका परम्परागत परिकारहरू स्वाद लिन पाइने । थारु हस्तकलाको प्रत्यक्ष अवलोकन, काठे पिङ, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल सफारी लगायतका गतिविधिले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकले बताएका छन् ।
त्यसैगरी स्लो साइकल रेस, धैंटोफोर, भलाद्मी दौड तथा पेनाल्टी सुटआउटजस्ता खेलकुद गतिविधि पनि महोत्सवका मुख्य आकर्षण रहनेछन्। महोत्सवमा करिब एक लाख २५ हजार दर्शक तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ।
आयोजकले होमस्टे पर्यटनले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार, स्थानीय उत्पादनको बजारीकरण तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पु¥याइरहेको जनाएको छ। होमस्टेले महिलाको आर्थिक सशक्तीकरण, स्थानीय भाषाको संरक्षण तथा ग्रामीण जीवनशैली अनुभव गर्ने अवसर समेत प्रदान गरिरहेको बताइएको छ।
हाल सुदूरपश्चिम प्रदेशमा ३६ वटा होमस्टे सञ्चालनमा रहेका छन्। कैलालीमा सबैभन्दा बढी १५ वटा होमस्टे सञ्चालनमा रहेका छन् भने कञ्चनपुरमा ५, अछाम र दार्चुलामा ४÷४ तथा डडेल्धुरा, डोटी, बझाङ र बैतडीमा २÷२ वटा होमस्टे सञ्चालनमा छन्।

“नेपालको वास्तविक सौन्दर्य महसुस गर्न होमस्टे रोजौँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको महोत्सवले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।