३२ असार २०८१, सोमबार July 15, 2024

घर टहरा हटाउने सूचनाप्रति गाउँपालिकाको ध्यानाकार्षण

१६ जेष्ठ २०८०, मंगलवार
घर टहरा हटाउने सूचनाप्रति गाउँपालिकाको ध्यानाकार्षण

हसुलिया । सव डिभिजन वन कार्यालय बसन्ताले जारी गरेको घर टहरा हटाउने सूचनाप्रति कैलारी गाउँपालिकाले ध्यानाकार्षण जनाएको छ ।
यही जेठ १४ गतेको सूचनामा वसन्ता वन क्षेत्र –कैलारी गाउँपालिका वडा नम्बर १, ५ र ७) का मंझरा, बैजपुर, मनिकापुर, सपना शिविर, बन्दरगौरी, बसन्ता, छटकपुर बसन्ता, शिवरत्नपुर, तिघरी, मिलनपुर र भुँइयाँफाटा लगायतका बस्तीहरु ७ दिन भित्र खाली गर्ने भन्ने विषयमा गाउँपालिकाले प्रेस विज्ञप्ती मार्फत ध्यानाकार्षण जनाएको हो ।


गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले गाउँपालिका जिल्लाकै अति बाढी प्रभावित गाउँपालिका रहेको र गाउँपालिकााका नदी तटीय क्षेत्रका बासिन्दाहरु पानी जन्य विपदबाट प्रभावित हुने गरेको विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
साथै वडा नम्बर १, ५ र ७ का बस्तीहरु २०६४ सालको बाढीबाट प्रभावित भई विभिन्न निकायहरुसंग भएको समन्वय तथा सहमति अनुसार बसोबास गरी रहेको जानकारी गराउँदै उनले सव डिभिजन वन कार्यालय बसन्तालाई बर्षायामको समयमा यस्ता कार्य तत्काल रोक्न र समन्वयका लागि अनुरोध गरेका छन् ।
सोमबार मात्रै गाउँपालिका अन्र्तगतका राजनीतिक दलहरुले उक्त सूचनाप्रति आपत्ति जनाएका थिए । बिना विकल्प बर्षाको मुखमा बाढी पीडित बस्तीहरुको घर टहरा हटाउने सूचना प्रति आपत्ति जनाउँदै घर टहरा हटाउने गरेमा कुनै घटना परिघटना भएमा स्वयम जवाफदेहि हुने चेतावनी पनि दिएका थिए ।
सव डिभिजन वन कार्यालय बसन्ता कैलालीले जेठ १४ गते घर टहरा हटाउनका लागि सात दिने सूचना जारी गरेको छ । तोकिएको समयमा घर टहरा नहटाएमा स्थानीय प्रशासनको सहयोगमा अतिक्रमित क्षेत्र खाली गराइने सव डिविजन वन कार्यालय बसन्ताका प्रमुख श्याम सुन्दर माझीको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेकोछ । साथै हटाउन अटेर गर्ने घर धनीहरुलाई तथा व्यवसायीहरुलाई वन ऐन २०७६ बमोजिम कार्वाही समेत गरिने उल्लेख गरिएको छ ।
आज मात्रै गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको संयोजकत्वमा बाढी पीडित संघर्ष समिति, राजनीतिक दलका प्रतिनीधी, बरघर भलमन्साहरु बीच छलफल भएको छ ।
उक्त छलफलले गाउँपालिकाका वडा नम्बर १, ५ र ७ का बाढी पीडित बस्ती मंझरा, बैजपुर, मनिकापुर, सपनाशिविर, बन्दरगौरी, बसन्ता, छटकपुर बसन्ता, शिवरत्नपुर, तिघरी, मिलनपुर र भुँइयाँफाँटा बस्ती हटाउने कार्य तत्काल रोक्का गर्न गाउँपालिकाले सम्बन्धित निकायसंग पहल गर्ने निर्णय अध्यक्ष चौधरीले जानकारी गराएका छन् ।
साथै बाढी पीडित बस्तीहरुको हाल बसोबास गरिरहेको ठाउँमा तत्काल निस्सा र लालपुर्जा दिई स्थायी बसोबासको व्यवस्थापनका लागि सम्बन्धित निकायसंग समन्वय गर्ने र कार्यपालिकाको बैठकबाट बाढी पीडितको व्यवस्थापनका लागि निर्णय गरी संघ र प्रदेश सरकारलाई सिफारिस गर्ने लगायतका निर्णय भएको समेत उनले जानकारी गराएका छन् ।

सम्ब्न्धित समाचारका लागि यहाँ क्लिक गर्नुहोस ।