३२ असार २०८१, सोमबार July 15, 2024

रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषदको सिफारिस

१४ जेष्ठ २०८०, आईतवार
रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषदको सिफारिस

काठमाण्डौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई आममाफी दिनेछन् ।
यसअघि सरकारले चौधरीलाई माफी दिने प्रस्तावबारे राय माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो । उक्त निवेदन अध्ययन गरी राष्ट्रपति कार्यालयले ’प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न’ भनेर गृहमा फिर्ता पठाइएको थियो ।
गृहले चौधरीबारे मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि आममाफीका लागि मन्त्रिपरिषदले सिफारिस गरेको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना बालकको ज्यान गएको थियो ।
घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।
सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए । गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो ।
रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्ने लगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसदमा ४ सिट जितेको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । उनी रेशम चौधरीकी श्रीमती हुन् ।
सेतोपाटीबाट