९ जेष्ठ २०८१, बुधबार May 22, 2024

गोदावरीका किसानलाई बंगुरका पाठा

३ जेष्ठ २०८०, बुधबार
गोदावरीका किसानलाई बंगुरका पाठा

धनगढी, ३ जेठ । कैलाली जिल्लाको गोदावरी नगरपालिका–६ बडेहाका २७ जना किसानलाई बंगुरका पाठापाठी वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश सरकारकी पुर्व पुर्वधार विकास राज्यमन्त्री चुन कुमारी चौधरीले किसानलाई बंगुरका पाठापाठी वितरण गरेकी छन् ।
उनले महिलाहरुको आर्थिक सशक्तिकरण गर्नको लागि बंगुरका पाठापाठी वितरण गरिएको बताइन् । उनले बाटो घाटो पुल पुलेसा संगै कृषिको कार्यक्रममा पनि आफूले जोड दिदै आएको बताउँदै जबसम्म विपन्न समुदाय आर्थिक रुपमा सम्वृद्ध हुँदैनन् तवसम्म सामाजको विकास नहुने बताइन् ।
‘यो कार्यक्रम क्षणिक समयका लागि होइन । अहिले पाएका बंगुरका पाठा पाठीलाई बढाएर भोलिका दिनमा ठूलो कृषि फर्मको रुपमा संचालन गर्न सक्छन्’ उनले भनिन ‘अहिले २ पाठापाठी लिएकाहरुले भोलिका दिनमा पाठापाठी उत्पादन गरेर बेच्न सक्ने हुनुपर्छ ।’
कार्यक्रममा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्राविधिक महेश भट्टले कार्यक्रम संचालन गर्नुको मुख्य उद्देश्य पछाडी परेको समुदायको आयआर्जन गर्नु रहेको बताए ।
उनले कार्यक्रम अन्तरगत तालिम पनि दिइने बताए । कार्यक्रमका लागि ४ लाख बजेट विनियोजन गरिएको उनले बताए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको आर्थिक सहयोगमा संचालिन कार्यक्रमका स्थानीय बंगुर पालन किसान समुहमार्फत संचालन गरिएको हो । जसअन्तरगत २७ किसानलाई ५९ वटा वंगुर वितरण गरिएको विपना चौधरीले बताइन् ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत उक्त वडामा २ समुह मार्फत १५० वटा बंगुर वितरण गर्ने कार्यक्रम रहेको छ । बाकी बंगुर केहि दिनमा जंगली बंगुरपालन किसान समुह मार्फत वितरण गरिने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्राविधिक भट्टले बताए ।