काठमाण्डौं, ३ जेठ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।
सर्वोच्चले मंगलबार मात्र रेशमलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो । यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै रेशमले फैसलाले आफ्ना लागि न्यायिक नभए पनि स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् ।
‘टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैस्ला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ’, उनले भनेका छन्, ‘हामी सम्मानित अदालतलाई सदा समान गर्छौं ।’
न्यायालयप्रति आफ्नो भरोसा रहेको भन्दै उनले फैसलालाई लिएर अनर्गल प्रचार नगर्न सबैलाई आग्रह गरेका छन् ।
‘सबैलाई सम्मानीत सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु,’ डिल्लीबजार कारागारमा धैर्य र सहनशीलताका साथ कैद भुक्तान गरिरहेको भन्दै उनले भनेका छन्, ‘स्वस्थ छु, रत्तिभर मन विचलित भएको छैन ।’
रेशमलाई फाँसी दिए हुन्छ
यता रेशम चौधरीका सम्बन्धमा जिल्ला र उच्च अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्त पार्टीले विज्ञप्ति जारी गरेको छ । उसले अदालतको फैसला स्वीकार्य भएको बताएको छ। तर केही प्रश्नहरु पनि उठाएको छ ।
’यो (चौधरी जोडिएको विषय– टीकापुर घटना) राजनीतिक मुद्दा अदालती होइन’, विज्ञप्तिमा भनिएको छ, ’आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक हिसाबले हल गर्न अनुरोध गर्दछौँ ।’
विज्ञप्ती मार्फत सरकारसँग दुई वटा माग प्रस्तुत गरेको गरिएको छ । ’एक, सम्मानित सर्वोच्च अदालतले लाल आयोग प्रतिवेदनलाई सार्वजनिक गर्न दिएको आदेश पालना गर्नुपर्छ र लाल आयोग प्रतिवेदन सार्वजनिक गरिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ’दोस्रो, यदि रेशमलाल चौधरी लगायतका राजबन्दी हत्यारा हुन् भने फाँसी दिने ऐन बनाएर रेशमलाल चौधरीलाई फाँसी दिए हुन्छ ।’
सो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिए आफूहरुसँग अर्को विकल्प नरहेको बताउँदै आन्दोलन गर्न विवश हुने भनिएको छ । साथै विज्ञप्तीमा जेठ ३, ४ र ५ गते देशव्यापी राँके जुलुश प्रर्दशनी, कोणसभा र जेठ ६ गतेदेखि १० गतेसम्म नेपालबन्द गर्ने घोषणा समेत उल्लेख गरेको छ ।