९ बैशाख २०८३, बुधबार April 22, 2026

लोहरपुरमा बर्का भजहर कप फुटबल प्रतियोगिता हुने

९ बैशाख २०८३, बुधबार
लोहरपुरमा बर्का भजहर कप फुटबल प्रतियोगिता हुने

धनगढी, ९ वैशाख । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८, लोहारपुरमा थारु साँस्कृतिक छैठौं निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।


युवा जनहित क्लबको अयोजनामा बैशाख १६ गतेदेखि २३ गतेसम्म खेलकुद प्रतियोगिता हुने बुधबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । आयोजक क्लबका अनुसार फुटबल प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । फुटबल प्रतियोगिता १६ वटा टिमको सहभागिता रहने जनाईएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी रहेको छ । कैलारी गाउँपालिका मुख्य प्रवर्धकका रुपमा रहेको छ । विभिन्न संघ संस्था तथा निजि व्यवसायिक फर्महरुले पनि प्रायोजन र प्रबद्र्धन गरेर साथ दिएको आयोजकले जानकारी दिएको छ ।
थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व तथा संस्कृति संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा हरेक बर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएकोमा यो बर्ष पनि निरन्तरता दिएको क्लबका अध्यक्ष साँधुराम चौधरी बताए । उनले फुटबल प्रतियोगिता सँगै थारु समुदायका परम्परागत खेलकूद पनि आयोजना गर्ने बताए । अध्यक्ष चौधरीका अनुसार फुटबल प्रतियोगिताका साथै थारु समुदायका महिलाको छुर, डेल्वा दौड, टाँरा चिरौवर, कबड्डी, कुइली दिदी तथा पुरुष डेगा दौड लगायतको प्रतियोगिता पनि आयोजना गरिने बताए ।
थारू समुदायमा रोगव्याधि लाग्न नदिनका लागि भजहर पूजा गर्ने चलन रहेको छ । गाउँभन्दा केही पर रुखको छहारीमुनि रमाइलो गर्दै यो पूजा गरिन्छ । यस पूजामा गाउँका गुरुवाले गाउँघरमा रोगव्याधि नआओस्, बालबच्चा सुखीखुसी रहून्, गोरु, गाई, भैँसी र राँगालाई रोगव्याधिले नसमातोस् र खेतीपातीमा किराको प्रकोप नहोस् भनेर पूजा गर्ने चलन रहेको छ ।