३ बैशाख २०८३, बिहीबार April 16, 2026

‘पाँच वर्षमा कमैयाहरुको सबै समस्या सम्बोधन हुन्छ’

२ बैशाख २०८३, बुधबार
‘पाँच वर्षमा कमैयाहरुको सबै समस्या सम्बोधन हुन्छ’

हसुलिया, २ बैशाख । कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य जगत प्रसाद जोशीले मुक्त कमैयाहरुको समस्या सम्बोधनका लागि आफू सदनमा निरन्तर आवाज उठाउने बताएका छन् ।
मुक्त कमैया समाज कैलारीको आयोजनामा कैलारी गाउँपालिका वडा नम्बर ७ मिलनपुर बस्तीमा मुक्त कमैया पुनस्र्थापना सवाल तथा नव वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । आफ्नो क्षेत्रमा सबैभन्दा पीडित समुदाय मुक्त कमैया रहेको बताउँदै उनले मुक्त कमैयाहरुको समस्या आफ्नै समस्याको रुपमा सदनमा आवाज उठाउने बताएका हुन् ।


‘तपाईहरुको समस्याका पक्षमा बोल्नका लागि मतदान गरेर पठाउनु भएको हो, तपाईहरु जस्तै दलित समुदायले पनि पीडा खेपीरहेका छन्, यो देशका धेरै मान्छेहरु आर्थिक स्थितिबाट जुधिरहेका छन्, त्यो वर्गको निमित्त, त्यो समुदायको संघर्षको निमित्त, बोल्न र आवाज उठाउनका निमित्त हामी त्यो सदनमा छौ’, उनले भने‐ ‘तपाईहरुको समस्या मेरो समस्या हो भनेर सदनमा आवाज उठाएको छु, र निरन्तर त्यो समस्या सम्बोधन नभएसम्म आवाज उठाइरहने छु ।’
उनले मुक्त कमैयाहरुको समस्या सम्बोधनका लागि सदनमा प्रतिनिधित्व गर्ने थारु सांसदहरुसँग समन्वय सहकार्य गरेर वहाँहरुलाई पनि आवाज उठाउन अनुरोध गर्ने बताएका छन् । यसका साथै उनले पाँच वर्षे कार्यकालमा कमैयाहरुको सबै समस्या सम्बोधन हुने पनि बताएका छन् ।


‘हामीहरु बोल्ने भन्दा अहिले काम गर्ने ठाउँमा पुगेको छौ, हामीहरु पाँच वर्षे कार्यकाल पछाडि कमैयाको नाममा यो भएन, त्यो भएन भनेर मुद्धा उठाउने कुरा अहिले जतिपनि मुद्धा छन् ती मुद्धा कुनै पार्टीले उठाउन नपओस हाम्रो कार्यकालमा यी सबै मुद्धाहरुको समाधान होस भनेर हामीले चाहेका छौं, त्यसको निमित्त तपाईले हामीलाई सहयोग गर्नु पर्छ’, उनले भने ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले मुक्त कमैया पुर्नस्थापना तथा सामाजिक विकासका लागि बजेट विनियोजनका लागि आग्रह गरेका थिए । त्यसैगरि मुक्त कमैया र मुक्त कमैया युवाहरुलाई सीप विकास तालिम, उद्यमशिलता तालिम,
मुक्त कमैयाहरुको जमिनको समस्या समाधानका लागि अधिकार सम्पन्न कार्यदल बनाएर बसेको ठाउँको लालपुर्जा वितरण, मुक्त कमैयाको बालबालिकाका लागि प्राविधिक शिक्षा तथा उच्च तहसम्म निःशुल्क शिक्षा तथा स्वास्थ्य उपचारको व्यवस्थाका लागि ध्यानाकार्षण गराएका थिए ।


मिलनपुर र विपतपुर मुक्त कमैया बस्ती जोगाउन तथा जग्गा कटान नियन्त्रणका लागि मोहना नदीमा तट्बन्ध निर्माण, खानेपानीका लागि खानेपानी तथा हेण्ठपम्प र सिँचाईका लागि ओभरहेड टंकी, डिप बोरिङ्ग समेतका लागि ध्यानार्षण गराएका थिए ।
कार्यक्रममा मुक्त कमैया समाजका केन्द्रिय अध्यक्ष पशुपति चौधरी, मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेश अध्यक्ष चन्द्र प्रसाद चौधरी, मुक्त कमैया समाज भजनी नगर अध्यक्ष तेसराम चौधरी, विपतपुर बस्तीके भल्मन्सा दाउराम चौधरी, दिलरानी चौधरी, बुधराम चौधरी लगायत मुक्त कमैयाहरुको समस्या र सम्बोधनका लागि अनुरोध गरेका थिए ।
कार्यक्रम मुक्त कमैया समाज कैलारी अध्यक्ष झलारु चौधरीको अध्यक्षतामा भएको थियो । मुक्त कमैया समाज कैलारीका उपाध्यक्ष रामु कुमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन विनोद चौधरीले गरेका थिए ।