१९ फाल्गुन २०८०, शनिबार March 2, 2024

भीमदत्त नगरपालिकाद्वारा श्रम स्वीकृति दिन सुरु

११ बैशाख २०८०, सोमबार
भीमदत्त नगरपालिकाद्वारा श्रम स्वीकृति दिन सुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आज (सोमवार) देखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन शुरु गरेको छ ।
स्थानीय तहबाट श्रम स्वीकृत प्रदान गर्ने भीमदत्त नगपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ । भीमदत्त नगरपालिकाले २ जना स्थानियलाई सोमबार श्रम स्वीकृत प्रदान गरेको छ ।
वडा नम्बर ९ निवासी आनन्द सिंह रावत र वडा नम्बर ८ निवासी भवान सिंह भण्डारीलाई भीमदत्त नगरपालिकाका नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख नीलम लेखक जोशीले खादा ओडाएर श्रम स्वीकृत पत्र प्रदान गरेकी हुन् । सोम्मार देखि नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोशीले बताइन् ।
‘विगतमा श्रम स्वीकृति लिन राजधानी काठमाण्डौँ जानुपर्ने बाध्यता, समयमा काम नहुने, खर्च बढी हुने लगाएतका थुप्रै समस्या वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले भोग्नु पथ्र्यो ।’ उनले भनिन् ‘जब सरकारले श्रम स्वीकृत स्थानीय तहबाट समेत प्रदान गर्न सकिने प्रावधान ल्यायो तबबाट हामीले, हाम्रा कर्मचारीहरु वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई जतिसक्दो छिटो नगरपालिकाबाटै श्रम स्वीकृती प्रदान गर्नेगरी काम ग¥यौँ र आजबाट नगरपालिकाबाटै श्रम स्वीकृत प्रदान गर्ने सेवाको सुरुवात भएको छ ।’
उनले अगाडी भनिन् ‘अब पहिलेको जस्तो समस्या स्थानीयहरुले भोग्नु पर्दैन ।’ नगरपालिकाबाटै श्रम स्वीकृत पाएपछी भीनपा–९ का रावतले खुशी लागेको बताए । ‘पहिला यो श्रम स्वीकृति लिन काठमाण्डौँ जानु पथ्र्यो, त्यहाँ होटेलमा बस्न, आउन, जान गाडी भाडा लगाएत धेरै खर्च हुन्थ्योँ ।’ उनले भने ‘खर्च भएपनि समयमा काम नहुने, विभिन्न प्राविधिक कारण देखाएर काम नगर्दिने लगाएतका धेरै समस्या झेल्नुपर्ने बाध्यता थियो ।’
उनले अगाडी भने ‘अहिले आफ्नै घर छेउको नगरपालिकाबाटै श्रम स्वीकृति पाउँदा निकै खुशी लागेको छ । यसले हामी विदेश जानेहरुलाई धेरै नै सहज भएको महशुस भएको छ ।’
भीमदत्त नगरपालिकाका रोजगार संयोजक मीन बहादुर महराका अनुसार सरकारी व्यवस्था अनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको हो ।
गत चैत १६ गते नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।
बैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।