धनगढी : योंग कम्युनिष्ट लिग (वाईसीएल)ले कैलालीको कैलारी गाउँपालिकास्थित सार्वजनिक स्थलमा सरसफाइ अभियान सुरु गरेको छ ।
नेकपा माओवादी केन्द्र निकट वाईसीएल कैलारी गाउँपालिकाले शनिबारदेखि सरसफाइ अभियान सुरु गरेको हो । गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वनदेवी मन्दिर परिसर सरसफाइ गरी अभियानको थालनी गरेको हो ।
वाईसीएल कैलारी गाउँपालिका अध्यक्ष अशोक चौधरीले सरसफाइ अभियान प्रतिकात्मक सरसफाइ अभियान रहेको बताए । उनले भने, ‘यो केवल सफाइ अभियान मात्रै होइन, यो व्यक्ति, परिवार, समाजभित्रको बिकृति हटाउने सफाइ अभियान पनि हो ।’ सार्वजनिक सम्पत्तिको सुरक्षा, प्रवद्र्धन गर्ने अभियान समेत रहेकोले योसँगै आफूहरुले सम्बन्धित सरोकारवाला निकायलाई खबरदारी पनि गर्ने उनको भनाइ छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्र कैलारीका अध्यक्ष बतासु चौधरीले पालिकास्थित विभिन्न धार्मिक, सामाजिकलगायत सार्वजनिक स्थल सरफाइ अभियानलाई निरन्तरता दिने बताए । उनले पनि यो अभियानलाई शैक्षिक, सामाजिक, साँस्कृतिक, धार्मिक विकृति सरसफाइ गर्ने अभियानको रुपमा लिएको बताए ।