हसुलिया । व्यक्तिगत घटना दर्ता सप्ताह अन्र्तगत कैलालीको कैलारी गाउँपालिकामा पनि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ र ९ मा व्यक्तिगत घटना दर्ताबारे प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरिएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर चौधरीको अध्यक्षता भएको कार्यक्रममा पञ्जीकरण शाखा प्रमुख दयाराम चौधरीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए ।
वडा सचिव अनन्त राम कडेलले सहभागीहरुलाई व्यक्तिगत घटना दर्ताबारे जानकारी गराएका थिए । उनले व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ, र सम्बन्ध विच्छेद, सामाजिक सुरक्षा लगायतका व्यक्तिगत घटनाहरु घटना घटेका ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा दर्ता गर्न आग्रह गरे ।
सोही दिन वडा नम्बर ९ मा पनि उक्त कार्यक्रम भएको छ । वडा सदस्य धनबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव ठागुराम चौधरीले व्यक्तिगत घटना दर्ताबारे जानकारी गराएका थिए ।
कार्यक्रममा जनप्रतिनीधी, बरघर भलमन्सा, स्वाथ्य चौकी शाखा प्रमुख, महिला स्वास्थ्य स्वयम सेविका, फिल्ड सहायक अनुषा चौधरी, निलम चौधरी लगायतको उपस्थिति रहेको थियो ।
नेपाल सरकार तथा गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्र्तगत बैशाख १ गते देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह सबै स्थानीयमा सञ्चालन भएको छ ।
व्यक्तिको कानूनी पहिचान स्थापित गर्न, राज्यलाई नीति निर्माण गर्न र राज्यबाट प्रवाह हुने सेवा प्राप्तीको लागि व्यक्तिगत घटना दर्ता आवश्यक रहेकोले सो सम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रत्येक वर्ष बैशाख महिनाको पहिलो हप्ता व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै आएको छ ।