१३ बैशाख २०८२, शनिबार April 26, 2025

रुख चढेर चितुवाबाट बचे आमाछोरी

२७ चैत्र २०७९, सोमबार
रुख चढेर चितुवाबाट बचे आमाछोरी

कैलाली । कैलालीमा सेउला लिन जङ्गल गएका दुई आमाछोरी रुख चढेर चितुवाबाट बचेका छन् । घोडाघोडी नगरपालिका –२ साँडेपानीका जनकला शाही र उनकी छोरी भूमिका शाही आइतबार सेउला सोहोर्न नजिकै रहेको चिडिया ताल सामुदायिक वनमा गएका थिए ।
सेउलाको भारी बनाउँदै गर्दा एक्कासि चितुवा देखेपछि जनकलाले हतारहतार छोरीलाई आफूतिर तानेर नजिकै रहेको रुखमा चढेको बताए । जनकलाले कापीरहेको स्वरमा भनिन् । ‘‘छोरीले मम्मी बाघ आयो भन्दाभन्दै नजिकै आउन लाग्यो, हतारहतार छोरीलाई तानेर नजिकै रुखमा चढाएँ अनि म पनि चढेँ, रुखबाट अर्को पनि डाँडाबाट आउन लागेको देखेँ ।’’
दुईवटा चितुवा आफ्नो नजिकै आउँदै गरेको देखेपछि अत्तालिँदै जनकलाले १०० मा फोन लगाइन् । त्यहाँबाट इलाका प्रहरी कार्यालय सुखडको नम्बर पाएपछि प्रहरीलाई फोन गरी बोलाएको उनले बताए । करिब एक किलो मिटर दूरीमा प्रहरी कार्यालय रहेकाले खबर पाउनासाथ प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी वीरेन्द्र विकले ‘बाघले हामीलाई घे¥यो हामीलाई बचाउनुस्’ भन्दै अतालिँदै फोन आएपछि आफूहरू पाँच/छ मिनेटमा जङ्गलमा पुगेको बताए । प्रहरी टोली साइरन बजाउँदै जङ्गल पुगेपछि चितुवा भागेको थियो ।


चिडिया ताल सामुदायिक वन महेन्द्र राजमार्गसँग जोडिएको सुखड बजार नजिकै छ । स्थानीयहरू रुखबाट झरेको स्याउला मलको रूपमा प्रयोग गर्न गर्मी समयमा जङ्गल जाने गर्दछन् । प्रमुख डिएसपी विकले एक्लै सामुदायिक वनमा घाँस, स्याउला लिन नजान आग्रह गरे । उनले स्थानीयलाई यतिखेर वनजङ्गलमा जङ्गली जनावरको आवतजावत बढेको बताउँदै सजकता अपनाउन अनुरोध गरे । जनकलाले चलाखी अपनाउँदै रुखमा चढेर तत्काल फोन गरेकाले उनकोे उद्धार भएको बताउँदै कुनै आपत् विपत् परे प्रहरीलाई खबर गर्न समेत उनले आह्वान गरे । समयमै प्रहरीलाई खबर भएकाले पनि जनकला र भूमिका ठुलो दुर्घटनाबाट बचेकी छन् । जनकलाले समयमै प्रहरी पुगेर ज्यान जोगाएकोमा प्रहरीलाई धन्यवाद दिए ।
गोरखापत्रबाट