२२ भाद्र २०८१, शनिबार September 7, 2024

‘जिम्मेवार पत्रकारिताले मात्रै समाजलाई सहीमार्ग निर्देशन गर्नसक्छ’

२१ चैत्र २०७८, सोमबार
‘जिम्मेवार पत्रकारिताले मात्रै समाजलाई सहीमार्ग निर्देशन गर्नसक्छ’

थारु भाषाको पत्रकार आचारसंहिता जारी

घोराही । प्रेस काउन्सिल नेपालले थारु भाषाको पत्रकार आचारसंहिता जारी गरेको छ । प्रेस काउन्सिल नेपालले सोमबार दाङको घोराहीमा थारु भाषाको पत्रकारिता र आचारसंहिता विषयक गोष्ठीमा उक्त थारु भाषाको पत्रकार आचारसंहिताको लोकार्पण गरेको हो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र कार्यक्रमका प्रमुख अतिथी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उक्त आचारसंहिता पुस्तकको लोकार्पण गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख चौधरीले थारु भाषाका अझै लेखपढको अभ्यास बढाउन आवश्यक रहेको बताए । घोराही उपमहानरपालिकाले थारु भाषालाई कामकाजीको भाषा बनाए पनि व्यवहारमा लागु गर्न चुनौती देखिएको उनले बताए । थारुहरुमा लेखपढमा अभ्यास नहुदा पनि प्रयोगमा आउन नसकेको समेत उनले उल्लेख गरे ।
उपमहानगरपालिकाले थारुभाषामा पाठ्यक्रम तयार पारेको र आगामी शैक्षिक सत्र देखि ऐच्छिक रुपमा पठनपाठनमा ल्याउने तयारी गरेको नगरप्रमुख चौधरीले जानकारी दिए । थारु भाषाको संरक्षणमा थारु मात्रै नभई अन्य समुदायले पनि चासो दिनुपर्ने उनले बताए । थारु भाषा कला, संस्कृतीले भरिपूर्ण भएको उल्लेख गर्दै यसलाई पर्यटन प्रबद्र्धनसँग पनि जोड्न सकिने धारणा समेत राखेका थिए ।
पत्रकारकारीता क्षेत्र समाजको ऐना भएको भन्दै उनले यसको मर्म र धर्मलाई बचाउन थारु भाषाको पत्रकार आचारसंहिताले ठूलो अर्थ राख्ने बताए ।
कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भाषा संस्कृती हस्तान्तरण हुदै जानु पर्ने भए पनि लोप हुदै गएको बताए । बाह्य संस्कृतीको अनुशरण गर्नुले पनि भाषा र संस्कृतीमा चुनौती थपिएको उनको भनाई रहेको थियो । भाषा, कला संस्कृतीलाई बचाउन सञ्चार क्षेत्रको निकै ठूलो भूमिका समेत हुने उनले बताए ।
पत्रकार आचारसिंहता पालना गर्नु सबै पत्रकारहरुको धर्म रहेको भन्दै उनले यसबाट बिचलित भए समाजलाई समेत असर पर्ने बताए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जिम्मेवार पत्रकारिताले मात्रै समाजलाई सहि मार्गमा अघि बढाउने बताए । पत्रकारिता मार्फत भाषा संस्कृतीको संरक्षण गर्ने र नागरिकहरुलाई सत्य सूचना दिने विषयमा सबै पत्रकार एवं सञ्चार माध्यमहरु जिम्मेवार हुनुपर्ने उनको भनाई थियो । व्यक्ति विषेश भन्दा मुद्धामा केन्द्रित भएर बहस र लेखनीलाई प्राथमिकता दिनुपर्ने उनले बताए । साथे भाषा संस्कृती जोगाउन पनि पत्रकारिता पहिले जोगिनु पर्ने उनको भनाई रहेको थियो । पत्रकार आचारसंहिताको अक्षरस पालना गर्ने र समाजलाई सहि सूचना दिने कर्मबाट बिचलित नहुन समेत उनले आग्रह समेत गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले सञ्चार माध्यमहरुबाटै भाषा संस्कृतीको संरक्षण हुने बताए । लक्षित बर्ग र समूह सम्म पुग्न पनि भाषागत विषयलाई प्रभावकारी बनाउन आवश्यक पर्ने उनको भनाई छ । पत्रकार आचारसंहिता पालनाले मात्रै पत्रकार र संचार माध्यमको विश्वस्नीयता कायम रहेको उल्लेख गरे ।

प्रेस काउन्सील नेपालले थारु भाषाको सहित डोटेली र भोजपुरीमा समेत आचारसंहिता बनाएको छ । डोटेली र भोजपुरी भाषामा तयार पारिएको पत्रकार आचारसंहितालाई छिट्टै सार्वजनिक गरिने काउन्सीलले जनाएको छ । यस अघि काउन्सीलले नेपाली, मैथली र नेपाल (नेवारी) भाषामा आचारसंहिता जारी गरिसकेको छ । यसैविच थारु भाषाको सञ्चार माध्यमहरु चुनौतीपूर्ण अबस्थामा रहेको देखिएको छ ।
गोष्ठीमा थारु भाषासाहित्यका अध्येता डा. कृष्णराज सर्वहारीले थारु भाषाको पत्रकारितामा युवाहरुको आकर्षण बढ्दै गएको तर बर्षौ पहिले देखि सञ्चालनमा रहेका पत्रिकाहरु बन्द हुने क्रम पनि नरोकिएको उल्लेख गरे ।
अहिलेसम्म थारु भाषाका समाचार मूलक २३ वटा पत्रिकाहरु प्रकाशित भए पनि १७ वटा बन्द भएको, ४ अनियमित भएको, २ नियमति र एउटा अनलाईनमा रुपान्तरण भएको उनले जानकारी दिए । त्यस्तै साहित्यमूलक ३ वटा पत्रिका रहेको र एउटा बन्द रहेका छ भने २ नियमित रहेका छन् । २ सय बढी थारु पत्रकारहरु रहेपनि उनीहरुले सञ्चालन गर्दै आएका थारु भाषाका सञ्चारमाध्यमहरु सामुहिकतामा जान नसक्दा चुनौति थपिएको सर्वाहारीको भनाई रहेको थियो ।
उनले थारु भाषाको कला, संस्कृती संरक्षण गर्न विद्यालय तहबाटै थारुभाषाको पढाईलाई अनिवार्यता गर्नुपर्नेमा आवश्यकता औँल्याएका थिए । थारुभाषाका पत्रिका र अनलाइनहरुले समाचार, साहित्य, बिचारहरु प्रकाशित गर्दै आएपनि थारुभाषाका मुद्धाहरुलाई ओझेलमा पार्ने गरिएको टिप्पणी समेत गरे ।
डा. सर्वाहारीले कार्यपत्रमा थारु भाषाका सञ्चार माध्यमहरुले समाचार, साहित्यक, आलेख मार्फत भाषा, कला, संस्कार, संस्कृतीको प्रबद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा लक्की चौधरीले तयार पारेको थारु भाषाको पत्रकारिता र पत्रकार आचारसंहिताको कार्यपत्र प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्रमा थारु पत्रकार र मिडिया बिरुद्ध प्रेस काउन्सिलमा अहिले सम्म कुनै उजुरी नपरेको, काउन्सिलको तर्फबाट पनि स्वअनुगमनबाट कार्वाही नभएको, आचारसंहिता उल्लघंन भएका बिषयमा उजुरी दिनुपर्छ भन्ने बिषयमा चेतना बढाउनु पर्ने देखिन्छ भन्ने उल्लेख छ ।
डा. सर्वाहारीको कार्यपत्र माथी महेन्द्र बहुमुखी क्याम्पसका सहायक प्रमुख केवी चौधरीले टिप्पणी गर्दै कार्यपत्रले थारु पत्रकारिताको इतिहास देखि बर्तमान सम्मको उपलब्धीलाई समेट्न सकेको बताएका थिए । साथै आगामी कार्यदिशालाई स्पष्ट पार्न थप परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे ।
त्यसैगरी लक्की चौधरीको कार्यपत्र माथी टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष ठाकुरसिंह थारुले पत्रकारिता आचारसंहिता सबैका लागि समान हुने बताए । उनले पत्रकारहरु आफै अनुशासित हुनुपर्नेमा जोड दिए । पत्रकारहरुले आचारसंहिताको धज्जीउडाउन थालेपछि समाजमा पनि त्यस्तै प्रकारका सूचना र समाचार बढी बिक्ने गरेको टिप्पणी समेत गरे । पत्रकारिताको धर्मलाई भुलेर आबेग र आक्रोशको पत्रकारिताले स्रोता पाठकको ध्यान ताने पनि अन्तत समाजमा गलत सन्देश दिएको उनले बताए ।
कार्यक्रममा थारु भाषाका सञ्चार माध्यम चलाउदै आएका पत्रकारहरुले राज्यको पनि प्रबद्र्धन हुन आबस्यक रहेको बताएका छन् । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन, सामुदायिक रेडियो प्रशारक संघ लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष केपी घिमिरे, थारु पत्रकार संघका केन्द्रिय अध्यक्ष सन्तोष दहित, रेडियो गुरुबाबाका स्टेशन म्यानेजर पुष्पा चौधरी, राप्ती साहित्य परिषद्का केन्द्रिय अध्यक्ष टीकाराम उदासी लगाएतकाले पत्रकारिता आचारसंहिता पालनाले मात्रै समाजलाई सत्य सन्देश दिने बताए । प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीको स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण काउन्सिलका प्रबक्ता दीपक खनालले गरेका थिए ।
कार्यक्रममा दाङ सहित रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

सात बुँदे घोषणा पत्र जारी

गोष्ठीले सात बुँदे घोषणा पत्र जारी गरेको छ । उक्त घोषणा पत्रमा काउन्सिलले थारु भाषामा पत्रकार आचारसंहिता जारी गरेको प्रति आधार व्यक्त गदै यसको प्रभावकारी कार्यान्वयनका लागि थारु पत्रकारहरु प्रतिबद्ध छौ भनिएको छ । मातृभाषा संरक्षण र विकासका लागि तोकिएका हकअधिकार र अवसरलाई सदुपयोग गर्दै थारु भाषाका सञ्चार माध्यमबाट थारु भाषा, साहित्य, कला संस्कृतिको प्रवर्धनका लागि भूमिका खेल्ने, थारु भाषाका सञ्चार माध्यमहरु दिगो बन्न नसकेको अबस्थामा पुनः सुचारु गर्न र आगामी दिनमा सञ्चार माध्यम सहज रुपमा निरन्तर चल्ने वातावरण बनाउन सरकारबाट आवश्यक पहल गर्नु पर्ने माग गर्दै थारु पत्रकारहरु पनि सक्रिय भएर लाग्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै थारु भाषाका सञ्चार माध्यममा लोककल्याणकारिणी विज्ञापन थारु भाषामा प्रकाशन र प्रसारणका लागि विज्ञापन बोर्डले थारु भाषामा विज्ञापन नमुना उपलब्ध गराउनुपर्ने ध्यानाकर्षण गराउँदै र थारु भाषामा प्रकाशन र प्रशारण गर्ने, थारुभाषका सञ्चार गृहको स्तरवृद्धि तथा निरन्तरताका प्रेस काउन्सिद्वारा वर्गीकरणमा विशेष प्राथामिकतामा ध्यान दिनुपर्ने र राज्यबाट अनुदान, सहुलियत ऋण उपलब्ध गराउन माग गर्दै थारुहरुको भाषा, साहित्यको संरक्षण र प्रवद्र्धनका लागि थारु भाषामा लेख, रचना, कविता लेख्ने, थारु भाषाका पत्रपत्रिका तथा पुस्तक, उपन्यास प्रकाशन प्रशारण गर्ने लगायत रहेको छ ।