६ बैशाख २०८१, बिहीबार April 18, 2024

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव, प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन हुने

८ चैत्र २०७९, बुधबार
धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव, प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन हुने

धनगढी । धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुन गइरहेको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुन गइरहेको महोत्सव यही चैत्र १० देखि १३ गतेसम्म आयोजना हुने जनाएको छ । महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने अध्यक्ष पाण्डेयले बताए ।
सोही अवसरमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा (अमेरिका) पनि सहभागी हुने जनाइएको छ ।
समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने जनाइएको छ । अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशीको बद्रि–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने छ ।
महोत्सवमा हरेक दिन सुदूरपश्चिम प्रदेशका विभिन्न समुदाय र क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गर्ने जनाइएको छ । महोत्सवका लागि झण्डै ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना भएको थियो ।