२० मंसिर २०८१, बिहीबार December 5, 2024

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

६ चैत्र २०७९, सोमबार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए ।
१० पुसमा नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।
सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।
नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।

अब आरामसँग सरकार चल्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन भोलिदेखि छलफल थाल्ने बताएका छन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धनमा रहेका दलहरुसँग छलफल थाल्ने बताए । उनले अगाडि भने, ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २÷४ दिन भित्रमै सबै टुंग्याउने र काम गर्ने विचार छ ।’

शत प्रतिशत मत आउँछ भन्नुभएको थियो, आएन नि भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जति भयो, त्यो पर्याप्त रहेको बताए । उनले अगाडि भने, ‘अब आरामसँग सरकार चल्छ । विकास निर्माणको कामले गति लिन्छ ।’