८ बैशाख २०८१, शनिबार April 20, 2024

टीयू टपर भए एसपीएका विद्यार्थी

५ चैत्र २०७९, आईतवार
टीयू टपर भए एसपीएका विद्यार्थी

धनगढी। धनगढीको एसपीए कलेजमा बीआईएम अध्ययनरत् तीन विद्यार्थीहरु सर्वोत्कृष्ट नतिजासहित त्रिभुवन विश्वविद्यालयको दोस्रो र तेस्रो टपर भएका छन् ।

त्रिभुवन विश्वविद्यालय(टीयू)ले यसैवर्ष श्रावणमा लिएको बीआईएम (ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट) पहिलो सेमिष्टरमा एसपीएका हेमबहादुर जोरा टीयू दोस्रो र दीपेन्द्र जोशी तथा सौरभ प्रताप बम मल्ल तेस्रो टपर भएका हुन् । हेमले ३.९१ जिपिए तथा दीपेन्द्र र सौरभले ३.९० जिपिएसहित टीयू टप भएका हुन् ।

कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीमबहादुर पुनले विश्वविद्यालयको प्रतिस्पर्धी परीक्षामा एसपीएका विद्यार्थीले टप गर्नु गर्विलो कुरो रहेको बताए ।

‘टीयूको प्रतिस्पर्धात्मक परीक्षामा देशभरिका विद्यार्थीलाई उछिन्दै हाम्रा विद्यार्थी अब्बल सावित भएका छन् । उनीहरुलाई बधाई दिन चाहान्छु,’ कार्यक्रम निर्देशक पुनले भने, ‘यस नतिजाले शैक्षिक क्षेत्रमा एसपीए पुनः एकपटक अब्बल रहेको प्रमाणित गरेको छ । विद्यार्थीको अविरल मिहिनेत, अध्यापक तथा कलेजको साथ सहयोगले यो सम्भव भएको हो ।’

टीयू दोस्रो टपर भएका विद्यार्थी हेमले निरन्तरको लगाव र अध्यापक तथा परिवारको साथ सहयोगले सफलता मिलेको बताए ।

‘पढेरमात्रै नभएर व्यवहारिक रुपमा बुझेर पढेकाले यो नतिजा आएको जस्तो छ,’ हेमले भने, ‘मैले पढाईलाई बोझ कहिले मानिन । मन लगाएर पढे । कलेजमा पनि पढेका कुराहरु प्राक्टिकल्ली हुने गरेको छ । यसले राम्रो गर्न सहयोग गरेको हो ।’

अघिल्लो हप्तामात्रै आएको बीएचएम पहिलो सेमिस्टरमा पनि एसपीएका दुई विद्यार्थी टीयूको दोस्रो र तेस्रो टपर बनेका थिए । बीएचएमका देउमती चौधरी र एनी श्रेष्ठले पनि विश्वविद्यालय टप गरेका हुन् ।

गुणस्तरीय शिक्षाका लागि एसपीए पर्यायवाची शब्द जस्तै भइसकेकाले लगातार उत्कृष्ट नतिजा आइरहेको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

‘एक हप्ताका दौरान आएका त्रिविका दुई महत्वपूर्ण कार्यक्रममा हाम्रा विद्यार्थी टपर बन्दा हामी अन्त्यन्तै हर्षित छौं,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘विद्यार्थीहरुको लगाव र हाम्रा प्राध्यापकहरुले उहाँहरुलाई अब्बल बनाउँन दिनरात गरेको मिहिनतको फल यो हो । टपरसहित उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई दिन चाहान्छु ।’