धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूर पश्चिमको विकास र आर्थिक समृद्धिका लागि उर्जा क्षेत्रमा लगानी गर्न युरोपियन युनियन र राजदूतहरुसंग आग्रह गरका छन् ।
युरोपियन युनियनका प्रतिनिधि उसको सदस्य राष्ट्रहरूका राजदूतहरूको टोलीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले त्यो आग्रह गरेका हुन् । सुदूरपश्चिमका तीन जिल्लाको भ्रमण सकेर धनगढी फर्केका फर्केको युरोपियन युनियन र उसका दुई सदस्य राष्ट्र जर्मनी र फ्रान्सका राजदूत र मुख्यमन्त्री र मन्त्रीहरुबीच बिहीबार बिहान मुख्य मन्त्री कार्यालयमा भेटवार्ता भएको थियो ।
भेटवार्ताकै क्रममा मुख्यमन्त्री शाहले युरोपियन युनियन र उसका सदस्य राष्ट्रहरुलाई सुदूर पश्चिममा शिक्षा, स्वास्थ्य र उर्जाका क्षेत्रमा सहयोग गरेकोमा धन्यवाद पनि दिए । साथै आगामि दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिन मुख्यमन्त्री शाहले आग्रह गरेका थिए ।
भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले मानव विकास सूचकांकमा पछि परेको सुदूर पश्चिमको गरिवी निवारण, शिक्षा, स्वास्थ्य र उर्जामा लगानी गर्न युरोपियन युनियनसंग आग्रह गरे ।
आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले देशका अन्य प्रदेशका तुलनामा सुदूरपश्चिम पछाडि रहेकोले सुदूरपश्चिमको विकास, गरिवी निवारण, शिक्षा र स्वास्थ्यमा लगानी बृद्धि गर्न युुरोपियन युनियनसंग आग्रह गरे ।
जर्मनी राजदूत थोमास प्रिन्सले विकास र समृद्धिका अवसर र चुनौती बुझ्न सुदूरपश्चिमको भ्रमणमा आएको बताए । राजदूत प्रिन्सले युरोपियन युनियन र जर्मन सरकारले सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, उर्जा र जीविकोपार्जनका क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए । उनले आगामि दिनमा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा लगानी थप गर्ने सोच रहेको बताए ।
फ्रान्सका राजदूत गिल्स बोरबाओले सुदूर पश्चिममा जलस्रोत परियोजनाको संभावना, विद्युत आपूर्तिका लागि भारतसंगको सम्बन्धका बारेमा चासो व्यक्त गरेका थिए ।
मधेश र भारतको सम्बन्ध राम्रो रहेको अनुभव सुनाएका राजदूत बोरबाओले सुदूर पश्चिम प्रदेश र भारतको सम्बन्धका बारेमा जिज्ञासा राखेका थिए ।
राजदूत बोरबाओको जिज्ञासमा मुख्यमन्त्री शाहले भारतको उत्तराखण्ड र उत्तर प्रदेशसंग जोडिएको सुदूरपश्चिमको भारतका ति दुबै प्रदेश र भारतसंग समधुर सम्बन्ध रहेको जानकारी दिए ।
बेल्जियमको ब्रसेल्सस्थित युरोपियन युनियनको मुख्यालयमा कार्यरत मार्टा सिल्यागीले संघीय सरकारको आग्रहमा युरोपियन युनियनले कर्णाली, सुदूर पश्चिम र मधेश प्रदेशमा बिभिन्न शिक्षा,स्वास्थ्य, उर्जा र गरिवी निवारणका क्षेत्रमा साझेदारी तथा सहयोग गरिरहेको बताईन् ।