१० चैत्र २०८१, सोमबार March 24, 2025

कलाकार स्व. परशुराम प्रति श्रद्धासुमन

३० फाल्गुन २०७९, मंगलवार
कलाकार स्व. परशुराम प्रति श्रद्धासुमन

धनगढी। थारु चलचित्रका निर्माता तथा कलाकार स्वर्गीय परशुराम चौधरीको १३ औं दिनको पुण्यतिथिमा धनगढीमा शोकसभा आयोजना गरि हार्दिक श्रद्धासुमन व्यक्त गरिएको छ ।
राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चि प्रदेश र सुप कला प्रतिस्थानको संयुक्त आयोजनामा भएको शोकसभा कार्यक्रममा कलाकारहरुले श्रद्धासुमन व्यक्त गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिस्थानको कुलपति डा. टिएन जोशीको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथी डा. जोशीले स्वर्गीय परशुराम चौधरीले थारु समुदायमा थारु चलचित्र मार्फत दिएको योगदानको कदर गर्दै कलाकारहरुको कल्याणका लागि पहल गर्ने बताए ।
कार्यक्रममा नायक प्रेम चौधरी, कलाकार प्रेम भण्डारी, थक्कर बम, मेघा स्टार संगत थारु, राजकुमार जोशी, निर्देशक चन्द्र चौधरी (चाँद) तेजा ऐर, राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष राजु चौधरी (राज), समु चौधरी, गोबिन्द मुखिया र उषा गोरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुप कला प्रतिस्थानका अध्यक्ष अम्बिकाप्रसाद आचार्यको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन गुणाकर पनेरुले गरेका थिए ।
कलाकार चौधरीको फागुन १९ गते शुक्रबारको दिन ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा निधन भएको थियो ।
स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि दुई महिना अघि अस्पताल भर्ना गरिएका चौधरीको उपचारकै क्रममा शुक्रवार मृत्यु भएको हो । अस्पतालले चौधरीको हृदयघातबाट मृत्यु भएको जनाएको छ ।
चर्चित बृत चित्र कमैयामा चौधरीले प्रमुख पात्रका रुपमा भूमिका निर्बाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएका थिए ।
अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।
धनगढी उपमहानगरपालिका–१ शिवनगरका स्थायी बासिन्दा रहेका चौधरी २०११ युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । स्वर्गीय चौधरीकी आमा, दुई पत्नी र तीन छोरी छन् ।