धनगढी । वङ्शाणुगत रोग सिकलसेल एनिमियाबारेको ज्ञान आदानप्रदान गर्नका लागि धनगढीमा विशेषज्ञ चिकित्सकको क्षेत्रीय सम्मेलन हुनेभएको छ ।
सोसाइटी अफ इन्टरनेशनल मेडिसिन अफ नेपाल (साइमन) को आयोजनामा भोलि शनिबार धनगढीमा प्रदेशस्तरीय क्षेत्रीय सम्मेलन हुन लागेको हो । सम्मेलनमा विभिन्न विषय विज्ञता प्राप्त गरेका १६ जना विशेषज्ञ चिकित्सकहरुले सिकलसेल एनिमियाको बारेमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने पत्रकार सम्मेलन गरेर जनाइएको छ।
वरिष्ठ हृदय रोग विशेषज्ञ डा. अरुण मास्केको सभापतित्वमा आयोजना हुने सम्मेलनमा प्रोफेसर डा. शुभेषराज कायस्थ, डा. जगदीश जोशी, डा. राजन पाण्डेय, डा. खगेन्द्र भट्ट, प्रोफेसर डा. भूपेन्द्रकुमार बस्नेत, डा. शेरबहादुर कमरले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ। यसैगरी, डा. प्रज्ञा गौतम, डा. कपिल गौतम, डा. निरजकुमार सिंह, डा. उत्तम भट्ट, डा. पुष्पराज अवस्थी, डा. योगेश भट्ट, डा. नवीन चन्द्र भट्ट, डा. ओमकार विष्ट र डा. अस्मिता शर्माको पनि कार्यपत्र प्रस्तुति रहने जनाइएको छ।
सिकलसले एनिमियाले बहु अङ्गमा समस्या गर्ने भएकाले आँखा, हड्डी, पेडियाट्रिक लगायत विषय विशेषज्ञ डाक्टरहरुले कार्यपत्र प्रस्तुत गर्ने डा. शुभेषराज कायस्थले बताए ।‘सिकलसेल बहु अङ्गमा असर गर्ने रोग हो’, उहाँले भन्नुभयो,‘त्यसैले सम्मेलनमा बहुविशेषज्ञ चिकित्सकबाट ज्ञान आदानप्रदान हुनेछ।’
धनगढी लगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा विशेषज्ञ चिकित्सकको संख्या बढ्दै गएकाले सिकलसेलका बिरामीको उपचारमा कुनै किसिमको समस्या नहोस भनेर ज्ञान आदानप्रदानका लागि सम्मेलन गर्न लागेको उनको भनाइ छ। सम्मेलनमा भारत, काठमाडौं, नेपालगञ्ज र सुदूरपश्चिमका गरी एक सय जना चिकित्सकको सहभागिता रहने जनाइएको छ।
सम्मेलन नीति नियमसंग सम्बन्धित नभइ बिरामीसँगमात्रै सरोकारित रहेकाले यसमा चिकित्सकोमात्रै सहभागिता रहने आयोजकको भनाइ छ। विभिन्न विषयका चिकित्सक एउटै ठाउँमा बसेर रोगको बारेमा छलफल तथा विचार मन्थन गरिने भएकाले यो सम्मेलन सिकलसेल बिरामीको हेरचाह र उपचारको सन्दर्भमा कोशेढुङ्गा सावित हुने आयोजकको भनाइ रहेको छ ।
यो प्रदेशमा पनि सिकलसेल एनिमियाका धेरै बिरामी रहेका कारण उनीहरुको उपचारको सवालमा विचार विमर्श गर्ने गरी सम्मेलन गर्न लागेको डा. कायस्थले बताए । उनका अनुसार कैलालीका अस्पतालमा उपचाररत एक हजार १९८ र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा उपचाररत आठ गरी अहिले एक हजार २०६ जना सिकलसेलका बिरामी छन्। सेती प्रादेशिक असपतालमा ८३६, घोडाघोडी अस्पतालमा ३६२ र टीकापुर अस्पतालमा एक जना बिरामीले उपचार गराइ रहेको जनाइएको छ।
चिकित्सकहरुका अनुसार सिकल ‘जेनेटिक डिसअर्डर’ बाट हुने वङ्शाणुगत रोग हो। विगतमा मलेरिया प्रभावित क्षेत्रका आदिवासीमा यो रोग बढी छ। नेपालमा थारु समुदायमा यो रोग बढी रहेको छ। वङ्शाणुगत कारणले रातो रक्तकेशिका खराबी भइ हसिया आकारको हुनु सिकलसेल रहेको सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डा. शेरबहादुर कमरले बताए । उनका सिकलसेल एनिमियाका बिरामीहरुको राम्ररी उपचार भएमा उनीहरु ७० वर्षसम्म बाँच्ने गर्दछन्।
‘उपचार भएन भने ४० वर्षसम्ममा बिरामीको मृत्यु हुन्छ’, उनले भने । सिकलसेल एनिमियालाई जनस्वास्थ्य समस्याको रुपमा परिषाभाषित गरेर नेपाल सरकारले २०७१ बाट एक लाख रुपियाँ बराबरको औषधोपचार सहुलियत दिदैं आएको छ । त्यसले बिरामीहरुको उपचारमा धेरै सहज भएको छ।
गोरखापत्रबाट