६ बैशाख २०८१, बिहीबार April 18, 2024

कैलारीमा जग्गाको निस्सा वितरण सुरु

२ चैत्र २०७८, बुधबार
कैलारीमा जग्गाको निस्सा वितरण सुरु


धनगढी । कैलालीको कैलारी गाउँपालिकाले जग्गाको निस्सा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) वितरण कार्य सुरु गरेको छ ।
राष्ट्रिय भूमि आयोगसंग भएको सम्झौता बमोजिम गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो । बुधबार वडा नम्बर ७ स्थित हौसलपुर र मोहनपुर गाउँका भूमिहीन, अव्यवस्थित बसोबासीलाई निस्सा दिइएको छ ।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्ष लक्ष्मी सत्गौंवाले स्थानीयलाई निस्सा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो क्रममा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए ।


उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताए । ‘यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उनले भने । ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने अध्यक्ष चौधरीको भनाइ थियो ।
उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा दिएको बताए । ‘तपाईहरुको पूर्जा छैन । त्यो नहुँदा पसल सञ्चालन गर्नसमेत नातागोताको सहारा लिनु परेको छ । बैंकले ऋण दिदैंन’, उनले भने । ‘अब तपाईहरुको आत्मसम्मानको समय सुरु हुँदैछ । उनले जग्गाको लालपूर्जा संघीय मन्त्रीले आएर वितरण गर्ने बताए ।’
त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले जग्गाको निस्सा प्राप्तीले ‘जग्गा मेरो हो’ भनेर ढुक्कका साथ भोगचलन गर्न पाइने बताइन् । उनले जग्गाको लालपूर्जा पाउनका लागि १० वर्षदेखि भोगचलन गरेको हुनु पर्ने र वडा कार्यालयमा कर बुझाइएको हुनु पर्ने बताइन् ।
उपाध्यक्ष सत्गौंवाले गाउँपालिकाको न्यायिक समितिमा बढी जसो ऐलानी पर्ती जग्गाको विवाद आउने गरेको उल्लेख गरिन् । ‘कित्ता काटको क्रममा साँध, सीमाको सवालमा मिलेर सबैले एक÷अर्कालाई सहयोग गर्नु होला’, उनले भनिन् ।
वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले निस्सा पाउने सबैका लागि ऐतिहासिक दिन रहेको बताए । उनले निस्सा वितरणपछि अझै महत्वपूर्ण र जटिल कार्य बाँकी रहेको उल्लेख गरे । ‘पहिलो चरणको कार्यक्रम पश्चात अब हामी झन जटिलतातिर गइरहेका छौं’, उनले भने ।
गाउँपालिकाले पहिलो चरणमा हौसलपुरका २८ र मोहनपुरका ६० गरी ८८ परिवारलाई जग्गाको निस्सा वितरण गरेको छ । निस्सा पाएपछि स्थानीय खुशी भएका छन् । आफूले ४० वर्षदेखि १७ कट्ठा ऐलानी जग्गा उपभोग गर्दै आएको उल्लेख गर्दै हौसलपुरका सोहनलाल चौधरीले त्यो जग्गा आफ्नो नाममा बनाउने प्रक्रियामा गएपछि खुशी लागेको बताए ।
‘ऐलानी जग्गा खनजोत गरेको तीन पुस्ता भइसक्यो’, उनले भने । ‘तर, अहिलेसम्म जग्गा आफ्नो नाममा छैन । अब लालपूर्जा पाउने प्रक्रियामा गएपछि खुशी लागेको छ ।’ हौसलपुरकै मिना चौधरीले जग्गाको निस्सा पाउँदा खुशी लागेको बताइन् । ‘१४÷१५ कट्ठा ऐलानी जग्गा उपभोग गर्दै आएका छौं’, उनले भनिन् । ‘त्यो हामीले नै खनजोत गरिरहेको प्रमाण गाउँपालिकाबाट पाउँदा खुशी लागेको छ ।’
निस्सा वितरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, गाउँ सभा सदस्यहरु, सबै गाउँका भलमन्साहरु, सामुदायिक वनका पदाधिकारी, वडा कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो । वडा सदस्य मुसम्फीदेवी चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सामाजिक शाखा प्रमुख यगम कलेलले सञ्चालन गरेका थिए ।