धनगढी । कार्यस्थलमा पनि महिला असुरक्षित रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
मंगलबार धनगढीमा मिडिया एडभोकेसी ग्रुप सोलिडारिटी सेन्टरद्वारा आयोजित हिंसामुक्त कार्यस्थलको आवश्यकता विषयक कार्यक्रममा सहभागीहरु कार्यस्थलमा पनि महिला विभिन्न किसिमका हिंसा भोग्नु पर्ने बताएका हुन् ।
हरेक कार्यालयमा कार्यरत महिला कुनै न कुनै बहानमा कार्यस्थलमा हिंसा खेप्न बाध्य रहेका सहभागीहरुले औंल्याएका थिए । कार्यस्थलमा भोग्नुपरेको हिंसाबारे महिला तथा युवतीले उजुरी कसलाई गर्ने भन्नेबारे जानकारी नहुँदा पनि ति हिंसाहरु बाहिर आउन नसकेको पनि उनीहरु औंल्याएका थिए ।
अधिवक्ता तथा अधिकारकर्मी रेणु प्रधान श्रेष्ठ कार्यस्थलमा महिलामैत्री वातावरण नभएकोले महिलाहरु हिंसा भोग्नु पर्ने बताइन् ।
धनगढी उपमहानगरपालिकाकी न्यायिक समिति सदस्य रत्ना बिष्ट महिलाहरु आर्थिक तथा शैक्षिक रुपले कमजोर भएकै कारण हिंसा सहनु पर्ने बताइन् । उनले हिंसा न्यूनीकरणका लागि महिलालाई शैक्षिक तथा आर्थिक रुपमा सबल बनाउनु पर्नेमा जोड दिइन् ।
नेपाल पत्रकार महासंघ कैलाली शाखा अध्यक्ष हिमाल जोशी महिला हिंसाका स्वरुप परिवर्तन भएको र त्यसलाई न्यूनीकरण गर्न सकारात्मक सोचको आवश्यकता रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक विश्व अधिकारीले पीडितले समयमै प्रहरी कार्यालथ तथा सम्बन्धित निकायमा उजुरी दिएमा यस्ता घटनामा कमि आउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशक सदस्य उन्नती चौधरीले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, महिला अधिकारकर्मी, दिनेश एफएमकी प्रवन्धक अमिता कुँवर, पश्चिम टुडेका प्रशासन प्रमुख भुवन जोशी लगायत विभिन्न संघसंस्थाका प्रतिनीधी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।