धनगढी । कैलालीमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान २०७८ बारे बुधबार धनगढीमा पत्रकारहरु बिच भएको अन्तक्रियामा यहि फागुन २८ देखि चैत १५ गतेसम्म अभियान सञ्चालन हुने बारे जानकारी दिएको हो ।
यो वर्ष कैलालीमा औषधि खान योग्य व्यक्तिमध्ये कम्तीमा पनि ८० प्रतिशतभन्दा बढीलाई औषधि खुवाइने लक्ष्य रहेको छ । कैलालीमा रहेको कुल जनसंख्या आठ लाख ९७ हजार ३८२ मध्ये हात्ती पाइले रोगविरुद्धको औषधि खान योग्य संख्या आठ लाख ६९ हजार ८६९ रहेको छ । गर्भवति महिला, सात दिन भित्रका सुत्केरी, दुई वर्षमुनिका बालबालिका, सिकिस्त बिरामी र दीर्घ रोगीले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न नहुने जनाइएको छ ।
नवौं पटकसम्म आम औषधि खुवाउने अभियान सञ्चालन गर्दा पनि यो जिल्लाबाट हात्तीपाइले रोग निवारण हुन नसकेपछि दशौँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो ।
सुदूरपश्चिम प्रदेशको अरु जिल्लामा हात्तीपाइलेको जोखिम नरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । यो वर्ष थप एक वटा औषधि पनि थपिएको छ । पहिले डीइसी र अल्बेन्डाजोल गरेर दुई प्रकारका औषधि मात्रै खुवाइएको थियो । यो वर्ष मान्छेको उचाइ अनुसार खुवाइने ‘आइभरमेक्टिन’ नामक औषधि थप गरिएको छ ।
कैलालीमा अहिलेसम्मका सबै अभियान असफल भएका कारण यो वर्ष फेरि दशौं अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । उनले सबैले औषधि नखाइ दिएका कारण फेरि–फेरि आम औषधि सेवन अभियान सञ्चालन गर्नु परिरहेको बताए ।
‘नियमित पाँच पटकसम्म औषधि नखाइ दिएका कारण कैलालीबाट हात्तीपाइले निवारण गर्न सकिरहेका छैनौं’, उनले भने । ‘गतवर्ष लगातार औषधि खानेको प्रतिशत ६५ प्रतिशत पुगेको भए अभियान सफल हुन्थ्यो तर, त्यति पनि पुगेन ।’ लगातार पाँच वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधि खाएमा यो रोग नलाग्ने जनाइएको छ ।
गत वर्ष कैलालीमा हात्तीपाइले रोगको औषधि खान योग्य उमेर समूहका ५.३ प्रतिशत जनसङ्ख्याले औषधि नखाएको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । ९४.७ प्रतिशतले पहिलो पटक खाएका थिए । यसैगरी, २०७६ मा ९.८४ जनसंख्याले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेनन् । औषधि सेवन गर्ने दर बढ्दै गए पनि सबैले नखाइ दिंदा अभियान नै असफल हुने गरेको छ । केही मान्छेले औषधि नखाँदा फेरि–फेरि सबैले हात्तीपाइले रोग विरुद्धको औषधि खानु परिरहेको प्रमुख धामीले बताए । गतवर्ष सात लाख ३१ हजार ४५६ जनाले औषधि खाएका थिए ।
नेपालमा सन २००३ बाट हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान ६३ जिल्लामा सुरु गरिएको थियो । २०२० सम्म सबै जिल्लाबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य थियो । तर, कैलालीसहित १० जिल्लामा अझै यो रोगको जोखिम रहि रहेको छ ।
जोखिम रहेका जिल्लाबाट सहश्राब्दी लक्ष्य अनुसार २०३० सम्म निवारण गर्नु पर्ने जनाइएको छ । हात्तीपाइले रोग निवारणको उपाय आम औषधि सेवनमात्रै रहेको सेती प्रादेशिक अस्पतालका फिजिशियन डा. शेरबहादुर कमरले बताए । ‘यो रोगको भाइरस शरीरमा प्रवेश गरेको लामो समयसम्म पनि केही असर देखिन्न । त्यसैले यसबाट जोगिनका लागि औषधि सेवन एकमात्र उपाय हो’, उनले भने । ‘यसको भाइरस २० वर्षसम्म पनि हाम्रो शरीरमा रहन सक्छ ।’
डा. कमरले हात्तीपाइले रोग विरुद्धको आम औषधि ९९.९९ प्रतिशत सुरक्षित रहेको बताए । यद्यपि, यो औषधि खाइसकेपछि कतिपयलाई सामान्य समस्या हुने गरेको उल्लेख गरे । उनले त्यस्ता समस्या व्यवस्थापनका लागि स्वास्थ्यकर्मीको टोली तयार पारिएको र तत्कालै ‘रेस्पोन्स’ गरिने बताए । औषधि सेवनपछि नगन्य व्यक्तिमा सामान्य, मध्यम र कडा खालको असर देखिने गरेको डा. कमरको भनाइ थियो ।
यसैगरी, यो वर्ष थप गरिएको आइभरमेक्टिन औषधि उचाइ नापेर उपयुक्त मात्रामा खुवाइनेछ । यो औषधिले हात्तीपाइलेको सबै किटाणु मार्ने काम मात्रै नगरेर लुटो, दाद पनि निको गर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
यस्तै, यसले एक व्यक्तिबाट अर्को व्यक्तिमा मलेरिया सर्न पनि रोक्ने र जुम्रा पनि मार्ने जनाइएको छ । पछिल्लो समय धेरै चिकित्सकले कोरोनाका बिरामीलाई पनि यो औषधि चलाएको डा. कमरले जनाए । उनले ढुक्क भएर हात्तीपाइले रोगविरुद्धको औषधि खाइ अभियान सफल पार्न सबैलाई आग्रह गरेका छन् ।