धनगढी, २१ माघ । नेपाली कम्युनिष्ट पार्टी नेता तथा कैलाली क्षेत्र नं. ५ का उम्मेदवार प्रेमबहादुर आलेले मोहना र खुटिया नदीको कटान रोक्न वृहत परियोजना लागूहुने गरि अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी अभियानलाई तीब्र बनाएका आलेले मंगलबार धनगढी उपमहानगरपालिका–२ मा जनभेटघाटमा बोल्दै यस्तो प्रतिवद्धता गरेका हुन् ।
उनले भने ‘क्षेत्र नं. ५ भरि नै मोहना र खुटिया नदीको कटानको समस्या छ । यी दुबै नदीबाट तीब्ररुपमा कटान भइरहेका छ । यी नदीको कटान र दुबान रोक्न सानोतिनो बजेटले हुँदैन् । यसलाई परियोजनाको रुपमा अगाडि बढानुपर्छ ।’
पूर्वमन्त्रीसमेत रहेका आलेले भने ‘नदी कटान रोक्न वृहतरुपमा लैजानुपर्ने आजको आवश्यकता छ । यहाँका जनताको पनि माग छ । यसलाई वृहत परियोजना लागूहुने गरि अगाडि बढाउँछु ।’
उनले बिगतमा डोटीबाट तीन पटक निर्वाचन जित्दा जनतासँगको सम्बन्धलाई नटुटाएको,सधै नङ र मासुको जस्तै सम्बन्ध बनाएको र आगामी दिनमा पनि जनतासँगै रहने प्रतिवद्धता जनाए ।
उनले बिगतमा आफूले गरेका विकास निर्माणका काम अझै हेर्न सकिने बताउँदै सधै जनताको हितमा काम गर्ने बताए ।
उनले जन भेटघाटमा जनताको अपार माया पाइरहेका बताउँदै आसन्न निर्वाचनमा कैलाली क्षेत्र नं. ५ का जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गरे ।
आलेले कैलाली क्षेत्र नं. ५ मा आफ्ना चुनावी गतिविधिलाई तीब्र बनाएका छन् । अहिले उनी घरदैलोको कार्यक्रममा छन् । डोटीबाट २०७० सालको संविधान सभा, ०७४ सालको प्रतिनिधि सभा सदस्य र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जितेका आले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली–५ बाट उम्मेदवार बनेका छन् ।